काठमाडाैं, २१ असाेज । जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।
सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जिल्ला प्रहरी काठमाडाैंमा निवेदन दिएकाे थियाे ।
जिल्ला प्रहरी काठमाडाैंले जाहेरी बुझेर थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो । यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिए । ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठायौँ,’ प्रवक्ता भट्टराईले भने, ‘दर्ता नगरी आयोगको कार्यक्षेत्र पर्ने भएकाले आयोगमा पठाइदिएका हौँ । यहाँबाट पत्र आयोगमा गइसक्यो ।’