उद्योग वाणिज्य महासंघको निर्वाचन सकियो शतप्रतिशत मतदान

 लिम्बुवान न्युज
                       

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान आज सकिएको छ ।

निर्वाचनमा शतप्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । जिल्ला नगर, वस्तुगत र एसोसियट तर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले बताए । बिहान आठ बजेदेखि मतदान शुरु भई अपररान्ह ४ बजे सकिएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । विधान अनुसार अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण रहेको मानिन्छ ।

चुनाव अघि नै महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका थिए । बाँकी अन्य सबै पदहरुमा चुनाव भएको हो ।

मतदानमा जिल्ला नगरतर्फ शतप्रतिशत मत खसेको छ । महासंघमा देशभरका १०५ वटा जिल्ला र नगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुने भएको हुँदा जिल्ला र नगरमा कडा टक्कर भएको छ ।

जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठले भिडेका छन् । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् । ढकाल प्यानलबाट उम्मेदवार बनेका तिवारी पनि जिल्ला नगरमा परिचित व्यवसायी हुन् ।

महासंघको कार्यसमितिमा जिल्ला नगरतर्फबाट चयन हुने १८ केन्द्रीय सदस्यका लागि ३८ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका छन् ।

त्यसैगरी निर्वाचनमा वस्तुगत तर्फ पनि शत प्रतिशत नै मत खसेको छ । वस्तुगत तर्फको मतभार २० प्रतिशत हुन्छ ।

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा व्यवसायी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । महासंघमा १०३ वटा वस्तुगत संघ र १८ वटा द्विदेशीय उद्योग वाणिज्य संघ छन् । द्विदेशीयलाई पनि वस्तुगतमै गणना गरिन्छ । वस्तुगत तर्फका उम्मेदवारमा अञ्जन किशोर प्रधानको प्यानलबाट हुन् भने उमेश चन्द्र ढकाल प्यानलका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा उमेशलाल श्रेष्ठ ३ कार्यकाल महासंघको केन्द्रीय सदस्य रहेर हाल पनि उपाध्यक्ष छन् । वस्तुगत तर्फका १४ केन्द्रीय सदस्यमा भने २८ जना चुनावी भिडन्तमा छन् ।

मतदानमा एसोसियटतर्फ पनि शतप्रतिशत नै मत खसेको हुँदा कडा टक्कर हुनसक्ने आकलन गरिएको छ । महासंघमा ९ सय ३ एसोसिएट सदस्य छन् । एसोसियटतर्फको मतभार ३० प्रतिशत हुन्छ ।

एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघई भिडन्त हुँदैछ छन् । ज्योति प्रधान प्यानल र संघई ढकाल प्यानलका उम्मेदवार हुन् ।

महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा शौरभ अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् ।

ढकाल प्यानलका उम्मेदवार संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यका लागि ३१ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

आज राती नै नतिजा आउन सक्नेः

मतदान सकिएपछि अब छलफल मार्फत मतगणना सुरु गर्ने समय तय हुनेछ । मतगणना सुरु गरिहाल्ने योजना भएकाले सम्भवतः आज रातिसम्ममा महासंघले नयाँ कार्यसमिति पाउनेछ ।

महासंघको नयाँ कार्य समिति चयनको लागि तीन स्थानबाट मतदान गरिएको थियो । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्यांक्वेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान भएको हो ।

महासंघको ५४ औं साधारणसभा ११ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट साधारणसभा उदघाटन गरेका थिए । बन्दशत्र पनि भर्चुअल माध्यमबाटै गरिएको थियो । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोनाका कारण पटक–पटक स्थगित भएको थियो ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन्् ।

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...