विश्वप्रकाश शर्माको ‘ऐना’ माघ ७ गतेबाट कान्तिपुर टिभीबाट प्रसारण हुने

 लिम्बुवान न्युज
                       

झापा। द होराइजन मल्टिमिडियाले निर्माण गर्ने सामाजिक विषयवस्तु माथिको टेलिभिजन कार्यक्रम ‘ऐना’ माघ ७ गतेदेखि प्रसारणमा आउने भएको छ ।

काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रम ‘ऐना’ विश्वप्रकाश शर्माले सञ्चालन गर्ने जानकारी दिइयो । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका शर्माले सञ्चालन गर्ने कार्यक्रम ऐना २६ अंकको रहने छ । एक घण्टा समयावधिको कार्यक्रम ऐना कान्तिपुर टेलिभिजनबाट हरेक बुधबार राति ९ बजे प्रसारण हुनेछ ।

पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाको शीर्ष गीत समेत सार्वजनिक भयो । देशका अधिकांश भूभागमा पुगेर विभिन्न सामाजिक घटनाका पात्रहरुलाई भेटी छायांकन गरिएको गीतमा मानवीय संवेदना र प्राकृतिक सुन्दरतालाई समेटिएको छ । चर्चित कवि श्रवण मुकारुङले रचना गरेको शीर्ष गीतमा सुगम पोखरेलको स्वर र मोहित मुनालको संगीत छ ।
पत्रकार सम्मेलनमा कार्यक्रम ऐनाले समेट्ने विषयलाई छोएर शिल्पी थिएटरको समूहले नाटक समेत मञ्चन गरेको थियो ।

कार्यक्रम ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले राजनीतिक व्यक्तित्वलाई सामाजिक र मानवीय मुद्दामा जोड्नुका साथै समाजका विविध घटनासँग प्रत्यक्ष साक्षात्कार गराउन पनि विश्वप्रकाश शर्मालाई कार्यक्रम प्रस्तोताका रुपमा आग्रह गरिएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रस्तोता शर्माले समाजका विविध घटनाको गहिराइमा पुगेर मानवीय संवेदनालाई छुनेगरी तयार भइरहेको कार्यक्रम ऐनाको हिस्सा बन्न पाउँदा आफूलाई गर्व लागेको बताए । शर्माले सामाजिक मुद्दाका सवालमा देशमा दुईवटा चित्र रहेको र त्यसलाई ऐनाले छर्लङ्ग देखाउनेमा आशावादी रहेको बताए । देश विकासको कुरा गर्दा भौतिक विकास र व्यवस्थामा परिवर्तन आउने तर समाजका मुद्दा ज्यूकात्यूँ रहने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिए । उनले आफू राजनीतिक जिम्मेवारीको हैसियतले कतिपय सवालमा जवाफ दिनुपर्ने ठाउँमा रहे पनि यो कार्यक्रम मार्फत् समाजका विविध सवालमा प्रश्न गर्न आइपुगेको औंल्याए ।

कार्यक्रम ऐनाको मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गरेको छ भने सहप्रायोजनमा चौधरी फाउन्डेसन र आइएनजी ग्रुप छन् । पत्रकार सम्मेलनमा ग्लोबल आइएमई बैंकका डेपुटी सिइओ महेशप्रसाद ढकालले सामाजिक विषयलाई गहन अध्ययन गरेर तयार हुने कार्यक्रम ऐनाको मुख्य प्रायोजक हुन पाउँदा खुसी लागेको बताए । उनले आगामी दिनमा पनि यस्ता गम्भीर कार्यक्रमहरुमा बैंकको साथ र सहयोग जारी रहने जानकारी दिए । यस्तै, चौधरी फाउन्डेसनकी डेपुटी जेनरल म्यानेर मेरिना रञ्जितले कार्यक्रम ऐनाले समाजलाई उज्यालो तर्फ लैजानेमा आशावादी रहेको बताइन् ।

समाजमा भइरहेका अमानवीय घटना, विभेद, अन्याय, अपराध, अपमान, असावधानी, रुढीवादी परम्परा–सोच आदिले किन मान्छेलाई मान्छे बन्न दिइरहेको छैन? के हो त्यसको जड? देशका विभिन्न स्थानमा घटनास्थलमै पुगी र पीडित वा सरोकारवालाहरुलाई भेटेर तथा स्टुडियोमा छलफल गरेर यिनै प्रश्नको जवाफ खोज्ने काम कार्यक्रम ’ऐना’ले गर्नेछ ।

कार्यक्रम ऐनाको निर्देशन अमनप्रताप अधिकारीले गर्नेछन् । कार्यक्रमको प्रोड्युसर जनक पौडेल हुन् भने अनुसन्धान प्रमुख प्रकाश लामिछाने र स्क्रिप्ट राइटर आन्विका गिरी हुन् । यस्तै, कार्यक्रमको अनुसन्धान टिममा भानु बोखिम, महाविर विश्वकर्मा, मनिका खतिवडा र लक्ष्मी नेपाल छन् । कार्यक्रम ऐनाको स्टुडियो बालाजुस्थित नेपाल चलचित्र बोर्डको हलमा तयार भएको छ । (प्रतिदिन दैनिकबाट)

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...