कोरोनाको नयाँ भेरियन्ट भित्रिएसँगै नेपालमा उच्च सतर्कता अपनाउन अनुरोध

 लिम्बुवान न्युज
                       

नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट (ओमिक्रोन) भित्रिएसँगै मुलुकभर उच्च सतर्कता अपनाउन थालिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गते र त्यसअघिका निर्णयका आधारमा गृहमन्त्रालयले प्रहरी तथा स्थानीय प्रशासनलाई आन्तरिक सर्कुलर जारी गर्दै उच्च सावधानी अपनाउन भनिसकेको छ । सोही आधारमा जिल्ला जिल्लामा आवश्यक तयारी थालिसकिएको छ ।

गृहप्रवक्ता प्रदीपकुमार कोइराला मन्त्रिपरिषद्ले विभिन्न मितिमा गरेको निर्णय र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को निर्णयका आधारमा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न र गराउनका लागि मातहतका निकायलाई सर्कुलर जारी गरिसकेको जानकारी दिनुभयो । सोहीअनुसार सीमा क्षेत्रका जिल्लाले आवश्यक निर्णय गरी कार्यान्वयनसमेत गर्न थालिसकेका छन् ।

यसअघि कोभिड–१९ को सङ्क्रमण न्यून भएकाले मापदण्ड कार्यान्वयनमा केही खुकुलो भएको थियो । अहिले पनि मापदण्ड विपरीतका कार्यक्रम देखिँदै आएको छ । पुनः त्यही मापदण्ड कार्यान्वयन गरी भीडभाड कम गर्न, दुई मिटरको दूरी कायम गर्न तथा साबुनपानीले नियमित हात धुने, सेनिटाइज गर्ने र खोप अभियानमा मानिसलाई सरिक गराउने जस्ता गतिविधिमा जोड दिन थालिएको छ ।

गृहप्रवक्ता कोइरालाले मापदण्ड पालना गराउन र सीमा प्रवेशमा सुरक्षा अपनाउँदै कडाइ गर्न थालिएको जानकारी दिनुभयो । उहाँले नयाँ केसको विषयमा सिसिएसमसी र स्वास्थ्य मन्त्रालयको विशेष निर्णयका आधारमा आवश्यक निर्णय गरेर अघि बढ्ने पनि बताउनुभयो ।

अघिल्लो हप्ता नेपाल आएका दुई विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । त्यसको सङ्क्रमणमा गति उच्च रहेकाले सङ्क्रमण फैलिन नदिन नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको निर्णयअनुसार ओमिक्रोन देखिएका विभिन्न १० मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।

सङ्क्रमित दुई नागरिक सङ्क्रमणमुक्त भइसकेका र उनीहरुको सम्पर्कमा रहेका भनिएका ६६ जनाको परीक्षण गर्दा कसैमा नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो कोभिड–१९ को पछिल्लो समयमा पुष्टि भएको नयाँ भेरियन्ट हो वा रुप परिवर्तन भएको अवस्था हो । शुरुमा दक्षिण अफ्रिकामा पुष्टि भएको यो भेरियन्ट धेरै छिटो फैलिनसक्ने जनाइएको छ ।

त्यसैले सरकारले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल आउनेलाई प्रवेश अनुमति नदिने निर्णय गरेको हो ।

सङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई अनअराइभल भिसा पनि नदिने सरकारले निर्णय गरेको छ । जोखिम भएका मुुलुकबाट नेपाल भ्रमण गर्ने यात्रुले आफ्नै खर्चमा अनिवार्य सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले नेपाल सरकार गृहमन्त्रालयको निर्देशनअनुसार सबै प्रहरी एकाइमा परिपत्र जारी गरी आवश्यक सतर्कता अपनाउन र मापदण्ड पालना गराउने सन्दर्भमा ध्यान दिन निर्देशन दिइसकिएको जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी अनिवार्य मास्क प्रयोग गर्ने, दुई मिटर दूरी कायम गर्ने र राम्ररी साबुनपानीले हात धुने तथा सेनिटाइजरको प्रयोग गर्दा पनि नयाँ भेरियन्ट सङ्क्रमण रोक्न सकिने विज्ञबाट जानकारी आएको तर यसको अझै अध्ययन हुन बाँकी रहेको बताउनुहुन्छ । “अहिलेसम्मको पुष्टि भएको आधारमा यसअघि अपनाइएका मापदण्ड र खोप कार्यक्रम नै प्रभावकारी छ, हामीले त्यसलाई नै ध्यान दिनुपर्छ”, डा अधिकारीले भन्नुभयो ।

स्वास्थ्य विज्ञ डा विवेककुमार लाल खोप लिएर सुरक्षित हुन आग्रह गर्नुहुन्छ । “नयाँ कोरोना भाइरस ओमिक्रोन सङ्क्रमण रोक्न के गर्ने, खोपले काम गर्छ कि गर्दैन भन्ने जिज्ञासा सबैमा छ, अहिलेसम्मको अध्ययनले खोप प्रभावकारी नै छ”, डा लालले थप्नुभयो, “विज्ञको सिफारिस भनेको नै जनस्वास्थ्यका सबै मापदण्ड र उपलब्ध भएका खोपलाई निरन्तरता दिनु भरपर्दाे र सुरक्षित उपाय हो ।”

प्राप्त विवरणअनुसार हालसम्म विश्वमा २६ करोड ५७ लाख बढीमा सङ्क्रमण पुष्टि भइसकेको छ । अमेरिका र युरोपपछि दक्षिण पूर्वीएसियाली क्षेत्र कोरोनाबाट बढी प्रभावित छ । हालसम्म ५२ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा भने ५४ लाखभन्दा बढीमा परीक्षण गर्दा नौ लाख १९ हजारमा सङ्क्रमण भएको तथ्याङ्क छ । अहिलेसम्म ११ हजार ५४७ को मृत्यु भइसकेको छ । नेपालमा सङ्क्रमणदर १७ दशमलव छ प्रतिशत छ । प्रति १० लाखमा ३८० को मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताउनुभयो । केही शहरी क्षेत्रमा बढी सङ्क्रमित रहेका पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...