ललितपुर, ११ पुष । निर्वाचन आयोगले आगामी फाल्गुन २१ मा तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनेको निष्कर्ष निकालेको छ । सोही अनुरुप आयोगले काम अगाडि बढाएको आयोगका सहसचिव एव्म प्रबक्ता नारायण प्रसाद भट्टराईले बताए ।
शुक्रबार आयोगले चुनावसँग सम्बन्धित सूचना दिन ईआइएडीसी स्थापना गरेको छ । ईआइएडीसीको स्थापनाको जानकारी दिन आयोगले कार्यालयमा विशेष कार्यक्रम गरेको छ ।
सहसचिव भट्टराईले भने, ‘निर्वाचनको लागि अनुकुल वातावरण बनेको आयोगको निष्कर्ष रहेको छ ।’
चुनावको लागि अनुकुल वातावरण बनेको, निर्वाचनमा भाग लिने दलको संख्या बढेको, मतदाताको संख्या बढेको, मतदान स्थल र मतदान केन्द्रको संख्या वृद्धि भएको र निर्वाचनमा पर्यवेक्षण गर्ने सस्थाहरु बढेको प्रवक्ता भट्टराईले वताए ।
सहसचिव भट्टराईका अनुसार २०७९ को चुनावमा भन्दा आगामी चुनावमा १० लाख बढी मतदाता थपिएका छन् । अघिल्लो चुनावमा ८७ दलले भाग लिएका थिए । आगामी चुनावमा ११४ दलले सहभागीता जनाउने जानकारी आयोगलाई दिएका छन् ।
प्रवक्ता भट्टराईले समानुपातिक तर्फको निर्वाचन कार्यलय स्थापना भइसकेको बताउँदै सरकारले बजेट समेत विनियोजन गरिसकेको स्पष्ट पारे । यही पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाउने कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ ।