एजेन्सी । युरोकप २०२० को आज राती भएको दुई खेलमा इटाली र स्पेन सेमीफाइनलमा प्रवेश गरेका छन् । फिफा वरीयताको शीर्ष टिम बेल्जियमलाई हराउँदै इटाली १६औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो भने स्पेनले स्विट्जरलण्डलाई हराउँदै सेमीफानलमा प्रवेश गरेको हो ।
शुक्रबार राति भएको दोस्रो क्वाटरफाइनलमा बेल्जियमलाई २–१ गोल अन्तरले पराजित गर्दै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । जर्मनीको एलिनाज स्टेडियममा इटालीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे ।

बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काएका थिए । तर गोल्डेन जेनेरेशन मानिएको विश्व नम्बरवान टिमलाई इटालीले क्वाटरफाइनलबाटै घर फर्काएको छ ।
यस जितसँगै इटालीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । इटालीले ८२ वर्ष अगाडीको आफ्नै कीर्तिमान भङ्ग गरेको थियो । यस अघि इटालीले १९३५ को अक्टोबर देखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।
तीन पटकको च्याम्पियन स्पेन १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रुसमा शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा १० खेलाडीमा सिमित स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको निर्धारित ९० मिनेटमा र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । पेनाल्टी सुटआउटमा स्पेनले बाजी मार्यो ।
पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।
स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन, अकान्जी म्यानुएलको प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।
अब सेमिफाइनलमा आजरातीको विजेताहरु इटाली र स्पेन बिच प्रतिस्पर्धा हुने छ ।