काठमाडौं, १९ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने जनाउँदै नेपालका लागि खेल्नु नै आफ्नो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो भनेका छन् ।
२२ बर्षको उमेर मै सन् २००९ बाट १० बर्ष नेपाली राष्ट्रिय टोलीको कम्पानी सम्हालेका क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक जीवन रहुन्जेल मीठो यादका रुपमा आफूसँग रहने भन्दै नेपाली क्रिकेटलाई सबै मिलेर नयाँ उँचाइमा पुरयाउने विश्वास समेत व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटरका रुपमा यात्रा टुङ्गिए पनि नेपाली क्रिकेटको लागि आफ्नो सपना अझै पनि बामे सर्दै गरेको उनको भनाइ छ ।
सन् २००२ देखि क्रिकेट यात्रा सुरुआत गरेका उनले यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका हुन् । खड्काले राष्ट्रिय टिमको क्याप्टेनबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए ।
पारसले २००४, २००६ र २००८ गरी लगातार तीन यू–१९ विश्वकप खेलेका थिए । उनको नेतृत्वमा नेपालले डिभिजन–५ देखि एकदिवसीय टिम र टी–२० टिमको मान्यता पायो ।
पारसको कप्तानीमा नेपालले सन् २०१० मा घरेलु मैदानमा डिभिजन–५ को उपाधि जितेको थियो । उनकै कप्तानीमा नेपालले डिभिजन–४ र डिभिजन–३ को उपाधि विदेशी भूमिमा जितेको थियो ।