झापा गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

 लिम्बुवान न्युज
                       

झापा, १९ फाल्गुन । मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्डकपको पाँचौं संस्करण शनिबारदेखि शुरु हुने भएकोछ । आज झापाको बिर्तामोडस्थित खोल आयोजना हुने डोमालाल रावजंशी रंगशालामै पत्रकार सम्मेलन गर्दै आयोजकले सबै तयारी पुरा भएको जनाएको छ ।
झापा गोल्ड कपलाई विगतभन्दा थप उत्कृष्ट, भव्य र परिष्कृत बनाउन सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष विनोद बस्नेतले पत्रकारहरुलाई जानकारी दिए । गोल्डकपका लागि खेल मैदान र प्यारापिट निर्माण लगायतका काम सम्पन्न भएको उनले बताए ।

गोल्ड कपका लागि झन्डै दुई महिना लगाएर उत्कृष्ट र शानदार मैदान बनाइसकिएको छ । करिब १० हजार दर्शक बस्न मिल्नेगरी बाँसको प्यारापिट निर्माण गरिएको छ भने दर्शकको चाप हुनसक्ने अनुमानका साथ प्यारापिटको अघिल्लोतिर दर्शकका लागि प्लास्टिकको कुर्सी र भुइँमा बसेर हेर्न सहज होस् भनेर कार्पेट ओछ्याइएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

प्रतियोगिताको तयारीस्वरुप झापा जिल्लाभरि स्वागत गेटहरु निर्माण गरिएको छ । बिर्तामोड आसपासमा एक दर्जन स्वागतद्वार बनाइएको छ । पाँचौँ झापा गोल्ड कपको समुद्घाटन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यतालिका तय भएको छ ।

आयोजकका अनुसार प्रतियोगिताको फाइनलका विजयी उपविजयीलाई पूर्वउप–प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शिल्ड तथा ट्रफी प्रदान गर्नेछन् ।

पाँचौँ संस्करणको झापा गोल्डकपमा घरेलु टोली झापा–११ सहित ‘ए’ डिभिजन क्लब नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपिएफ, थ्री स्टार, संकटा, सातदोबाटो र जावलाखेल युथ क्लब सहभागी हुने आयोजकले जनाएको छ । गोल्ड कपमा दुई भारतीय टिम एम एफसी दार्जिलिङ र आरपी एफसी सिक्किम सहभागी हुनेछन् ।

यो संस्करणमा पहिलोपटक औपचारिक गीत निर्माण गरेर सार्वजनिक भइसकेको छ । झापाको भूगोल र यहाँको फुटबलप्रतिको लगावलाई समेट्दै झापालाई फुटबल हबको रुपमा विकास गर्ने उद्देश्यले गीत निर्माण गरिएको हो ।
गीतकार बसन्त थाम्सुहाङको रचना रहेको गीतमा पारस मुकारुङले संगीत भरेका हुन् । गीतमा गायक डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दिपा लामाको स्वर रहेको छ ।

त्यस्तै, पाँचौँ झापा गोल्ड कपको औपचारिक मस्कटका रुपमा हात्तीको छावालाई प्रतिनिधित्व गराइएको छ । छावाले फुटबल प्रहार गर्दै गरेको प्रतिकका रुपमा मस्कट निर्माण गरिएको छ । मस्कटको निर्माण कलकार पवन राजवंशीले गरेका हुन् ।
त्यस्तै, यो वर्षको झापा गोल्ड कपको नारा ‘हाम्रो गौरव हाम्रो मान, झापा गोल्ड हाम्रो शान’ तय गरिएको छ ।
झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउँनेछन् । त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिताका उदीयमान खेलाडी, उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेनडर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् ।
अघिल्लो वर्षजस्तै पाँचौँ संस्करणको उद्घाटन समारोहमा पनि झापा जिल्लाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद १५ हजारसहित सम्मान गरिनेछ । यो वर्ष पनि खेल सञ्चालन हुने रंगशालाको जग्गादाता डोमालाल राजवंशीको परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग प्रदान गरिनेछ । यो रकम गोल्डकप उद्घाटनको दिन प्रदान गरिनेछ ।

 

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...