१० लाखसँगै त्रिभुवन आर्मीले चौथो प्रधानमन्त्री कप उचाल्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं, माघ १७। त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।

शनिबार भएको फाइनल खेलमा एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले प्रथम पटक उपाधि हात पारेको हो । विजेता आर्मीले १० लाख र उपविजेता एपिएफले ५ लाखमा चित्त बुझाएका छन् । अन्तिममा चार रन जोड्न ४ विकेट गुमाएपछि एपिएफ पराजित हुन पुगेको हो ।

जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । एपिएफका ओपनर आशिफ शेखले ७१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । आशिफको जारी प्रतियोगितामा तेस्रो अर्धशतक हो ।

चौथो ओभरको पहिलो बलमा जितेन्द्र मुखियाले ओपनर सुबास खकुरेललाई १४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । सुबासले १५ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा कप्तान शरद भेषावकर कटविहाइन्ड हुँदै गोल्डेन डग आउट हुन पुगे ।

तेस्रो विकेटका लागि आशिफ र शंकर रानाले ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको संकटलाई पार लगाएका थिए । स्पिनर साहब आलमले २० औं ओभरको चौथो बलमा शंकरलाई विनोदबाट २१ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । शंकरले ४७ बलमा ३ चौका प्रहार गरे । सुमित महर्जन ४० बलमा १ चौका र १ छक्का सहित १९ रनमा आउट भए ।

३९ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई विक्रम सोबले हरि चौहानबाट २९ रनमा क्याच गराएपछि खेलले नयाँ मोड लिएको थियो । सन्दीपले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे । सन्दीप आउट भएसँगै एपिएफले ४ रन जोड्न चार विकेट गुमाएपछि आर्मी च्याम्पियन बनेको हो ।

विक्रम सोबले ९ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखियाले ९ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । साहब आलमले ९.३ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । आर्मीका हरि चौहानले १ सय २ बलमा ६ चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए । हरिले ८९ बलमा अर्धशतक पूरा गरेका थिए ।

आर्मीले आश्चर्य पार्दै ओपनिङमा अनिल कुमार मण्डलका साथ स्पिनर सुशन भारीलाई पठाएको थियो । बाँया हाते स्पिनर सुशनले ९ ओभर सम्म अनिलसँग ३२ रनको साझेदारी गरेका थिए । सुशन किशोर महतोको नवौं ओभरको अन्तिम बलमा कट विहान्ड हुँदै विकेटकिपर सुबास खकुरेलबाट १३ रनमा आउट भए । सुशनले ३४ बल खेल्दै एक चौका प्रहार गरे ।

लगत्तै दशौं ओभरको पहिलो बलमा अनिल एज लागेर सेकेन्ड स्लिपमा आशिफ शेखबाट ११ रनमा आउट भएका थिए । अनिलले २१ बलमा १ चौका प्रहार गरे । १८ औं ओभरको पहिलो बलमा भिम सार्की ७ रनमा सुबास क्याच आउट भए । भिमले ३६ बलमा १ चौका प्रहार गरे । स्पिनर भुवन कार्कीको २७ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेल मिडअनमा अमरसिंह रौउटेलाबाट १३ रनमा क्याच लिए ।

रोहितले ३० बलमा १ छक्का प्रहार गरे । विनोद भण्डारी ७ रनमा एलबिडब्लू आउट भए । तल्लोक्रममा लोकेश बम ९ बलमा २ छक्का सहित १५ रनमा क्याच आउट भए । राजेश पुलामी २९ बलमा २ चौका र १ छक्का सहित २८ रनमा आउट भए । साहब आलमले राम्रो अन्त्य गर्दै १४ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । विक्रम सोब ११ रनमा आउट भए ।

एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । भुवन कार्की, शरद भेषावकर र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

यस अघि आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । सशस्त्रले दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी नेपाल पुलिस क्लबसँग ४ विकेटले पराजित भएको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...