दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन बनेको हो ।
दमक भेट्रान फुटबल क्लबको आयोजनामा दमक २ बेलडाँगी खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलको १७औं मिनेटमा विर्तामोडका प्रवेश कटुवालले गोल गर्दै सुरुआती अग्रता दिलाए । विर्तामोडका रविन राईले २८औं मिनेटमा गोल थप्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा पाएको अवसरको सदुपयोग गर्न नसक्दा दुई गोलले पछि परेको दमकले दोस्रो हाफमा समेत गोल गसक्दा उपविजेतामा चित्त बुझाउनु परेको थियो ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका प्रविण राई भए । प्रतियोगिताको उत्कृष्ट गोलकिपर विर्तामोडका तीर्थ रिजाल चुनिदा विर्तामोडका मोहन गुरुङ उत्कृष्ट डिफेन्डर र भूपेन लिम्बू उत्कृष्ट मिडफिल्डर घोषित भए । यसैगरी म्यान अफ द सिरिजको उपाधि भने दमक रातोका तुल बहादुर मगर(तुला) ले प्राप्त गर्यो ।
असोज १५ देखि २१ गतेसम्म सञ्चालित प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र पाउदा उपविजेताले ५१ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।?