बिएण्डसी मेडिकल कलेजमामा एमबिबिएस पढाई शुरुः विदेशी विद्यार्थी पनि आकर्षित

 लिम्बुवान न्युज
                       


दमक, २ माघ । झापा बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले पुस २६ गतेदेखि एमबिबिएस तहमा पढाइ सुरु गरेको छ । साविकको मेची अञ्चलमै पहिलोपल्ट विदेशीसहित ५० जना विद्यार्थीलाई काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृतिपछि चिकित्सा शिक्षा एमबिबिएस तहमा पढाउन सुरु गरेको हो ।
कलेजले बेसिक साइन्स अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । बिर्तामोड–५ मा क्लिनिकले अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि ३०० बेडमा सञ्चालनमा रहेको छ ।
यही पुस २६ गतेदेखि पठनपाठन सुरु भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत ५० जनामध्ये ३४ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।
स्वदेशी ३४ जनाध्ये पाँचजनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिस गिरीले झापा टुडेलाई जानकारी दिए ।

“पश्चिम बंगालको बागडोग्रा बिमानस्थलबाट ३८ किलोमिटरको दूरीमा मेडिकल कलेज रहेको हुँदा भारतीय विद्यार्थीका लागि बिएण्डसी पहिलो रोजाई बनेको पाइयो,” जनसम्पर्क अधिकृत गिरीले भने,“हिजोका दिनमा नेपालीहरु मेडिकल शिक्षा लिन विदेश जानुपर्ने बाध्यता थियो, अब विदेशीहरु धाएर नेपालमा आउन थाले ।”
आफ्नै जिल्लामा एमबिबिएस तहको पठनपाठन गराउने झापाबासीको दशकौँ पुरानो चाहना बल्ल पूरा भएको गिरीले बताए । उनले मेडिकल कलेजका लागि २०६८ सालमा सरकारबाट आशयपत्र पाउँदा र २०७१ सालमा ३०० बेडको अस्पताल सञ्चालन हुँदा समेत पठनपाठन सुरु हुन एक दशक कुर्नु परेको बताए ।
बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बिएन्डसी कान्छो कलेज भएको जानकारी दिए । पठनपाठन सुरु हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको उनले बताए ।
उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएण्डसी मेडिकल कलेज रोजेको खुसी सुनाए । मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बायलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजी लगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको शर्माले बताए ।
“शान्त र सुविधासम्पन्न छ पढाउने भवन,” उनले भने,“बेसिक साइन्स भवनमा पाँच तला छन् । दुईवटा ठुला सेमिनार हल छन् । सातवटा डिपार्टमेन्टका अलगअलग कक्षा कोठाहरु छन् । अत्याधुनिक प्रयोगशाला र पुस्तकालय छ ।”
सबै विद्यार्थीलाई छात्रावास सुविधा र शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै उनले झापामा बिएण्डसी अस्पतालको स्थापनापछि एक हजारजनाले प्रत्यक्ष रोजगार पाएको र अब कलेज सञ्चालन भएपछि अरु एक हजार रोजगारी सिर्जना हुने बताए ।
“भौतिक पूर्वाधार र शैक्षिक जनशक्तिका दृष्टिले बिएण्डसीले धेरै अगाडि मेडिकल कलेजको सम्बन्धन पाउनु पथ्र्यो,” प्रिन्सिपल शर्माले भने,“सुरुमै पढाई हुन पाएको भए यतिखेर एक हजारजनाले एमबिबिएस उत्तीर्ण गरिसक्थे भने यहाँ पढाउनेहरु प्रोफेसर भइसक्थे ।”
झापाको आर्थिक विकासमा बिएण्डसी मेडिकल कलेज र हस्पिटलले ठुलो टेवा पुर्याएको र जिल्लालाई मेडिकल शिक्षा र मेडिकल टुरिजमको हब बनाउने बाटो खुलाएको उनको धारणा छ ।
सर्वोच्च अदालतले २०८० चैत १३ गते बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । बिएण्डसी मेडिकल एण्ड टिचिङ हस्पिटल नागरिक बचाउ महाअधियानका संयोजक दुर्गा प्रसाईको लगानीमा बनेको हो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...