पाँचौं संस्करणको झापा गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक

 लिम्बुवान न्युज
                       

 

विर्तामोड, झापा । मोफसलकै उत्कृष्ट झापा गोल्डकपको पाँचौँ संस्करणको तयारी तिब्र रुपमा हुँदैछ । गत बिहीबार पत्रकार सम्मेलन गर्दै विर्तामोडस्थित सचिवालयमा आयोजकले गोल्डकपको मस्कट, गीत र नारा सार्वजनिक गरेको हो ।
गोल्डकप विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा यही फागुन २१ गतेदेखि ३० गतेसम्म संचालन हुने बताइएको छ । गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन पहिलोपटक औपचारिक गीत निर्माण गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए । गीतमा वसन्त थाम्सुहाङको शब्द र पारस मुकारुङको संगीत रहेको छ भने डम्बर नेपाली, भीषण मुकारुङ, सुनिता थेगिम र दीपा लामाले स्वर दिएका छन् ।
गोल्डकपको औपचारिक मस्कटका रुपमा हात्तीको छावा राखिएको छ । मस्कटमा छावाले फुटबल हान्दै गरेको राखिएको छ । मस्कटको निर्माण कलाकार पवन राजवंशीले गरेका हुन् । यो वर्षको झापा गोल्डकपको नारा ‘डोमालाल राजवंशी रंगशालाको संरक्षण, झापा गोल्ड कप झापालीको पहिचान’ तय गरिएको छ। झापामा स्थायी रंगशाला निर्माण गर्ने उद्देश्यका साथ नारा तय गरिएको अध्यक्ष बस्नेतले बताए ।
गोल्डकप नजिकिएसँगै डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत कार्य सुरु समेत गरिएको छ । खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने काम धमाधम भइरहेको छ । रंगशालामा करिब १० हजार दर्शक बस्न सक्ने गरी बाँसको प्यारापिट पनि निर्माण गरिने समितिका महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।
झापा गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ प्राप्त गर्ने कोषाध्यक्ष केदार गिरीले जानकारी दिए। त्यस्तै, मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजार रूपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई ९ हजार ९९९ रुपैयाँ दिइने आयोजकले जनाएको छ । गोल्डकप सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगितामा आयोजक झापा ११ फुटबल क्लबसहित नेपालका ए डिभिजन क्लब, मोफसलका एक वा दुई क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...