निर्वाचन प्रणाली पूर्ण समानुपातिक प्रणाली बनाउन विज्ञहरुको जोड

 लिम्बुवान न्युज
                       

ललितपुर, ३० माघ । नेपालको निवार्चन प्रणाली पूर्ण समानुपातिक लागू गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । बुधबार काठमाडौंस्थित सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै उनीहरुले हाम्रो जस्तो मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न आवश्यक रहेको बताएका हुन् ।
नेपालको निर्वाचन बढीभन्दा बढी खर्चिलो भइरहेको उल्लेख गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान आवश्यक रहेकोमा उनीहरुको जोड रहेको छ ।
बैठकमा बोल्दै पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले वर्तमान निर्वाचन प्रणाली लोकतन्त्रको सुदृढीकरणकै लागि चुनौती बन्दै गएको बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली आजको आवश्यकता भएको उल्लेख गर्दै यसका लागि राजनीतिक दलहरू र नेताहरू पूर्वाग्रहबाट टाढा जान जरुरी रहेको बताए । उनले विश्वका विकसित र धनी राष्ट्रहरूमा समेत यो प्रणाली अवलम्बन भएको बताए ।
उनले पूर्ण निर्वाचन प्रणाली लागू गर्नसके मुलुकमा राजनीतिक स्थिरता हुने विश्वास व्यक्त गरे । उनले अहिले नेपालमा ११८ वटा राजनीतिक दल भएको उल्लेख गर्दै अन्य कुनैपनि देशमा यति धेरै दलहरू नरहेको बताए । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नसके दर्शन र सिद्धान्त मिल्ने दलहरू एक ठाउँमा आउने वातावरण बन्ने समेत बताए । उनले घर बेचेर निर्वाचन जितेर आएको सांसदले कसरी जनताको सेवा गर्नसक्छ भन्दै प्रश्न समेत गरे । जनप्रतिनिधिहरुमा भ्रष्टचार हुने कार्य रोक्न यो निर्वाचन प्रणाली आवश्यक रहेको बताए ।
यो प्रणालीलाई ‘संसारका सबैभन्दा बढी देशले मन पराएको निर्वाचन प्रणाली हो । शून्य भ्रष्टाचार भएका देशहरूले प्रयोग गरेको निर्वाचन प्रणाली र नेपालको जस्तै जनताले दुःख भोगेर आएको दक्षिण अफ्रिकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेका छन् । उनीहरूको केन्द्रदेखि प्रदेशसम्म एउटै निर्वाचन प्रणाली प्रयोग हुन्छ । त्यहाँ आजसम्म कुनै कमजोरी भएर निर्वाचन प्रणालीमा पुनरावलोकन गरौँ भनेर भन्नुपरेको छैन ।’ उनले भने ।
बैठकमा बोल्दै सरकारका पूर्वसचिव गोपीनाथ मैनालीले वर्तमान निर्वाचन प्रणाली निकै अस्वस्थ रहेको हुँदा निर्वाचन प्रचारप्रसार, पैसामुखी र प्रविधिमुखी हुँदै गएकोले धेरै खर्चिलो र भड्किलो भएको बताए । उनले निर्वाचन महँगो हुँदै गएको हुँदा महिला, दलित र आदिवासी जनजातिले निर्वाचनमा भाग लिनसक्ने स्थिति नै नरहेको उल्लेख गर्दै पुनरावलोकन गर्न जरुरी रहेको बताए । उनले निर्वाचनमा सहभागी हुन बनाइएका क्लस्टरहरुको समेत कानुनमा स्पष्ट व्याख्या गर्न जरुरी रहेको बताए । उनले संविधानले राज्यका निकायहरूमा ३३ प्रतिशत महिला सहभागी हुनुपर्ने स्पष्ट व्यवस्था गरेको भएपनि कार्यान्वयन हुन नसकेको बताए । उनले पछिल्लो अध्ययनअनुसार राज्यका निकायहरूमा २० प्रतिशत मात्रै महिला सहभागिता रहेको बताए ।
उनले भने, संविधानले ३३ प्रतिशत महिला राज्यको निकायमा प्रतिनिधित्व गराउनुपर्छ भनेको छ । तर अहिले हामीले हेर्दाखेरि वास्तविक प्रतिनिधित्व २० प्रतिशत मात्रै रहेछ । राजनीतिक दलको समावेशीकरणको कुरामा पनि ध्यान दिन जरुरी रहेको उनले बताए ।
यस्तैगरी बैठकमा पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले प्रवासमा रहेका नेपाली नागरिकले समेत निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था गर्न जरुरी रहेको बताए । उनले प्रवासमा रहेका ६० लाख नेपाली हरुले निर्वाचन प्रणालीमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए । प्रवासमा रहेका नेपाली नागरिकलाई भोटिङ राइट्स दिन पर्याप्त छलफल र बहस गर्न जरुरी रहेको बताए ।
समितिले बुधबार नेपालको विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूबारे विज्ञसँग छलफल गरेको हो ।

सम्बन्धित समाचार

संविधान २०७२ विभेदकारी संविधान हो – प्रा.डा. महेन्द्र लावती 

ललितपुर, २ असोज । संयुक्त पहिचानवादी मोर्चाका संयोजक प्राध्यापक डाक्टर महेन्द्र लावतीले २०७२ को संविधान विभेदकारी भएको बताएका छन् । संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएपनि कागजी अक्षरमा मात्र सिमित रहेको स्पष्ट रहेको छ ।...

जेनजी नेपालकाे एक समूहले सात माग राख्दै गृहमन्त्रीलाइ बुझाए ज्ञापनपत्र

काठमाडाैं,२ असाेज । जेनजीको पचास प्रतिशत सहभागिता माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई जेनजी आन्दोलनको एउटा समूहले सरकारमा साँत बुँदे  ज्ञापनपत्र बुझाएको छ। बिहीबार गृहमन्त्नी अर्याललाई भेटेर जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले सरकारमा जेन–जीको ५०...

जेनजी आन्दोलन आदिवासी मुद्दा प्रति उदासिन रहेकाे भन्दै जेनजी आदिवासी परामर्शमा जुट्दै

 काठमाडाैं, १ असाेज । भ्रष्ट्रचार, परिवारवाद, नाताबादको विरोधमा सुरु भएको जेएनजीको आन्दोलनको परिणाम संस्थागत गरिरहँदा सोही आन्दोलनमा सहभागी आदिवासी जेएनजीहरु भने अन्यौलमा परेको देखिएको छ । खास गरेर मूलधारको जेएनजीको आन्दोलनमा आदिवासीको सवाल समेट्न नसकेकोमा...

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...