केरलामा लेफ्ट डेमोक्रेटिक फ्रन्टको बर्चश्व कायमै, केरलामा हिन्दुत्वको राष्ट्रवादमा अझै रोक

 लिम्बुवान न्युज
                       

एजेन्सी। दक्षिण भारतको केरला राज्यमा लेफ्ट डेमोक्रेटिक फ्रन्टले बर्चश्व कायम गर्दै दोस्रो कार्यकालका लागि विजय हात पारेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री पिनाराई विजयनले निर्वाह गरेको भूमिकापछि जनताले दोस्रो कार्यकालका लागि उनलाई अनुमोदन गरेका हुन् । १ सय ४० सिटको निर्वाचनमा ९९ सय सिटमा एलडीएफले बाजी मारेको छ ।

चुनावी सभामा मतदातालाई अभिवादन गर्दै मुख्यमन्त्री पिनाराई विजयन।

यता कांग्रेस समर्थित गठबन्धन युनाइटेड डेमोक्रेटिक फ्रन्टले भने ४१ सिटमा जित हासिल ग¥यो । भारतीय जनता पार्टी (भाजपा) ले भने आफ्नो अस्तित्व नै गुमाएको छ ।

केरलामा गतिशील विकास र धर्मनिरपेक्षताको पक्षमा अडिग रहँदा उनीमाथि विपक्षी दलहरूले निरन्तर आक्रमण गरेका थिए । उनी नेतृत्वको सरकारलाई सुन तस्करी गरेको, सरकारी सेवामा अनियमित तरिकाले कार्यकर्ता भर्ती गरेकोलगायतका आरोप विपक्षी दलहरूले लगाइरहेका थिए । विपक्षीले उनको खेदो खने पनि जनताले भने उनैलाई अनुमोदन गरे ।

सरकारको नेतृत्वमा दोस्रो कार्यकालमा दोहोरिँदै एलडीएफले इतिहास रच्यो । भारतको राजनीतिक इतिहासमा १ सय वर्षदेखिको आफ्नो मजबुत अस्तित्वलाई बचाउनु एलडीएफको अर्को इतिहास हो ।

केरला कसरी बन्यो कम्युनिस्टको गढ ?

केरलाको कम्युनिस्ट पार्टीले सर्वसत्तावादको नीति अंगीकार गरेन । हिंसात्मक राजनीतिभन्दा शान्तिपूर्ण चुनावी राजनीतिको नीति लियो । चुनावी राजनीतिबाट त्यस पार्टीले कहिल्यै पछि फर्किनु परेन । एलडीएफ सबैभन्दा बढी नागरिकलाई शिक्षित तुल्याउन केन्द्रित रह्यो । भारतको केरला मात्रै यस्तो राज्य हो जहाँ साक्षरतादर १०० प्रतिशत पुग्न थोरै अंक बाँकी छ ।

यस्तै, नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पु¥याउन पनि त्यस पार्टीको भूमिका उल्लेखनीय छ । केरलाको मोडललाई साम्यवादको नयाँ अवतारका रूपमा समेत परिभाषित गरिन्छ । पुँजीवादी राष्ट्रले प्रविधिमा होस् वा स्वास्थ्य क्षेत्रमा केरलाकै दक्ष जनशक्तिलाई प्राथामिकता दिने गरेका छन् । केरलाको कम्युनिस्ट मोडको सफलताप्रति विश्वले नै प्रश्न गरिरहन्थ्यो, ’आफ्नो सफलतालाई केरलाले कहिलेसम्म कायम राख्ला ?’

विश्वले उठाएको प्रश्नको जवाफ कम्युनिस्ट पार्टीले हरेक निर्वाचनमा दिइरहेको छ । यो पटक पनि दिएको छ । मुख्यमन्त्री विजयनले दुई कार्यकालसम्म विजयी भएका नेतालाई टिकटै दिएनन् । विजयनले संकटमा राम्रो व्यवस्थापन गरेर जनताको मन जिते । उनले राज्यमा लगातार दुई वर्ष आएको बाढीपछि पनि परिस्थितिलाई सम्हाले र जनताको सहायता गरे । कोभिड आउँदा पनि उनले केरलामा हालत नियन्त्रणबाहिर जान दिएनन् ।

त्यस्तै, विजयनले प्रत्येक घरमा निःशुल्क रासन उपलब्ध गराए । उनले प्रवासी मजदुरहरूका लागि सामुदायिक भान्साको प्रबन्ध गरेका थिए । प्रवासबाट फर्किएका युवाहरूलाई उचित रोजगारीको व्यवस्था गरे । यस्तै, कोभिड खोप सबैलाई निःशुल्क उपलब्ध गराए । वृद्धवृद्धालाई पेन्सनको राम्रो व्यवस्था पनि मिलाए । यही कारण एलडीएफले आफ्नो वर्चस्व कायम राख्न सफल भएको हो ।

एलडिएफको जग सन् १९३९ देखि सुरु भएको हो । ब्रिटिस राज्यको दमन, जातीय व्यवस्था र सामन्तवादविरुद्ध कम्युनिस्ट आन्दोलन सुरु भएको थियो । सांगीतिक जागरणबाट सुरु भएको अभियानले बृहत् रूप लिएपछि सन् १९५२ मा यो दलले निर्वाचनमा भाग लियो र जित हासिल ग¥यो । कम्युनिस्ट जागरणका निम्ति कार्ल मार्क्सको कम्युनिस्ट घोषणापत्रलाई स्थानीय भाषामा समेत अनुवाद गरिएको थियो ।

चीन, ल्याटिन अमेरिका र पूर्वी युरोपका नेताहरूले झै उनीहरूले उद्योगमा न त कब्जा जमाए, न त व्यक्तिगत सम्पत्ति कब्जामा लिए । राजनीतिको केन्द्रमा रहेको नेसनल कंग्रेससँग चुनावमा सहभागी भए । चुनावी प्रतिस्पर्धामा कहिले कंग्रेसलाई पछारे कहिले आफूले हार व्यहोरे । विस्तारै केरलाका लागि कम्युनिज्म पहिचान बन्न थाल्यो । १९७० र ८० को दशकसम्म त बच्चाहरूको नाम नै लेनिन र स्टालिन हुनु सामान्य भइसकेको थियो । केरला कम्युनिस्टको प्राथमिकतामा श्रमिक परे । पूर्वाधार निर्माणमा कार्यरत श्रमिकलाई राज्यले नै १० वर्षसम्म तलब दिने व्यवस्था ग¥यो । गल्फ राष्ट्रमा श्रमका लागि पुग्ने युवाहरूको रेमिट्यान्सबाट श्रमिकहरूलाई सरकारले निश्चित अवधिसम्म पालिरह्यो । केरला सबैभन्दा बढी व्यापारघाटा व्यहोर्ने राज्यमा निकै समयसम्म रह्यो ।

घाटामै रहेर पनि केरलाले नयाँ राजमार्ग बनाउने औद्योगिक पार्क बनाउने नीति लियो । केरला यसमा सफल पनि देखियो । अहिले त्यहाँ चारवटा अन्तर्राष्ट्रिय विमानस्थल छन् । एसियाकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पनि त्यही बन्दै छ । सन् १९८० देखि ९० को दशकमा केरलाबाट अदक्ष कामदारहरू खाडी मुलुकमा जाने गर्थे । अहिले त्यहाँ लेखापाल, वकिल, नर्स, डाक्टर तथा अन्य दक्ष कामदारका रूपमा पुग्ने गरेका छन् । केरलाको कुल गार्हस्थ्य उत्पादनमध्ये रेमिट्यान्स तेस्रो नम्बरमा पर्छ ।

पूर्वाधार निर्माण, स्वास्थ्यमा पहुँच र शिक्षाको दृष्टिले केरला सबैभन्दा अब्बल छ । त्यसैले कम्युनिस्ट पार्टीप्रति नागरिकको विश्वास अझै कायम छ । ’राज्यले आधारभूत सुविधा उपलब्ध गराएको अवस्थामा मानिसहरू सधैँभर नाफाकेन्द्रित भइरहने छैनन् । नागरिकलाई सम्पन्न बनाउन राज्यले नै लगानी गर्ने केरला मोडल लागू हुने हो भने पुँजीवादको पतन निश्चित छ,’ प्राध्यापक एच. एन हरीलाल भन्छन् ।

केरला कम्युनिस्टको गढ बन्नुको पछि उसले नागरिकका आवश्यकता पूर्ति गर्न सहयोग गर्नु हो । केरलाका युवाहरू राज्यले सबैलाई समान अधिकार दिएको प्रति कृतज्ञ छन्। ’राज्यले हामीलाई सबै वर्गका मानिसहरू समान हुन् र सबैलाई समान अवसरको सुनिश्चित छ भन्ने आभाष दिलाएको छ,’ २० वर्षीय युवा सिघिन प्रदिशले भने ।

केरलामा शिक्षा सुलभ छ भने साक्षरतादर १०० प्रतिशतनजिक

केरलामा शिक्षा सुलभ छ भने साक्षरतादर १०० प्रतिशत नजिक छ । केरलामा शिक्षा सुलभ छ भने साक्षरतादर १०० प्रतिशतनजिक छ ।
भारतको अन्य राज्यमाझैँ यहाँ हिन्दूत्वको राष्ट्रवाद प्रवेश गरिसकेको छैन । यहाँ धर्म निरपेक्षतालाई नै प्राथमिकता दिइन्छ । “हामी इसाई, मुस्लिम वा हिन्दू कोही पनि होइनौँ । रोग भोक र शोक सबैका लागि समान छन् । त्यसैले हामी मानव हौँ,” केटाकेटीहरू यहि गीत मस्तसँग गाइरहेका थिए ।

केरलाले समानताको शिक्षा दिइरहेको छ । सबैलाई समान अवसरका लागि राज्यले नै लगानी गरिरहेको छ । पूर्वाधार विकास, शिक्षामा सरल पहुँच र नागरिकलाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन एलडीएफ सधैँ अग्रसर छ । सय वर्षअघिको आफ्नो जगलाई भत्किन नदिन पार्टी क्रियाशील छ ।

समग्रमा इतिहासबाट पाठ सिक्दै नागरिकसँगको सहकार्यमा वर्तमान गतिशील बनाउँदै राज्य र नागरिकको सुन्दर भविष्य निर्माणका निम्ति कम्युनिस्ट पार्टी सक्रिय छ । त्यसैले केरलामा कम्युनिस्टले राज गरिरहेको छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...