झापा ४ जेठ । झापाको कचनकवल गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन विजयी भएको छ । नेपालकै होचो जमिनमा राप्रपाको विरासत कांग्रेस एमालेको गठबन्धनले खोसेको छ ।
गठबन्धनबाट अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा उमालेका उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक राप्रपाले जितेको कचनकवलमा यसपटक कांग्रेस–एमाले मिलेर राप्रपालाई पराजित गरेका हुन् ।
अध्यक्षमा कांग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशी ११४५७ मतका साथ विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी राप्रपाले ६६६७ मत पाए । तेस्रो भएको माओवादीले जम्मा ६६४ मतमा चित्त बुझाएको छ ।
यस्तै उपाध्यक्षमा एमालेका नवराज भट्टराई विजयी भएका छन् । उनले ८११३ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी राप्रपाकी उम्मेद्वारले ६८०२ मत पाइन् । तेस्रो भएको माओवादीले १२५७ मत पाएको छ ।