
दमक, ५ जेठ । पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापा दमक नगरको मतगणना रोचक मोडमा पुगेको छ । दमकका दसमध्ये आठ वटा वडाको मत गणना सकिएको छ । दमक ७ वडामा राप्रपाका वडाध्यक्ष भिम पौडेलसहित प्यानल विजयी भएको छ ।
वडा नम्बर ७ को नतिजा सार्वजनिक भएसँगै मेयरका उम्मेदवार राप्रपाका राम थापाले आफ्नो अग्रता ८७० हाराहारीमा पु¥याउँदै छन ्। एमाले उम्मेदवार गीता अधिकारी अहिले पनि थापाभन्दा पछाडि नै छिन् ।
यसैगरी उपमेयरमा नेपाली कांग्रेसकी नेतृ रेगिना भट्टराई प्रसाई पनि अग्रता कायम गरेकी छन् । उनी प्रत्यासी नेकपा एमालेका अम्बिका खनाललाई ३६८ मतले अगाडि छिन् ।
यसपटक दमक नगरपालिकामा ३९७३६ मत खसेको छ । ८ वटा वडाहरुबाट ३२७७९ मत गणना भईसकेको छ ।
वडा नम्बर ५ र ६ को गणना हुन बाँकी नै छ । वडा नम्बर ५ मा ४३४९ र ६ मा २७५४ मत खसेको छ । गणना हुन बाँकी ५ र ६ नम्बर वडाकै मतपरिणामले दमकको मेयर को बन्ने भन्ने निश्चित हुने देखिएको छ ।
२०७४ को निर्वाचनमा यी दुवै वडा एमालेले जितेको वडा हुन ्। वडा नम्बर ५ मा एकतर्फी जित निकालेका कारण सो वडालाई एमाले आफ्नो गढ ठान्छ भने वडा नम्बर ५ एमाले अध्यक्ष ओलीको घर भएको वडा पनि हो ।
एमाले नेताहरू चुनाव जितिने आशावादी
‘वडा नम्बर ५ मा हाम्रो एकलौटी जस्तो मत आउनेछ,’ एमाले नेता होम थापाले भने, ‘६ मा गठबन्धनसँग बराबरी जस्तो अवस्था छ । ५ ले हामीलाई जिताउनेमा ढुक्क छौं।’
एमालेले जितको आशा कायमै राखेका बेला राप्रपा, कांग्रेस, माओवादी, जसपा लगायत ‘महागठबन्धन’ का दलहरू पनि जित आफ्नै हुनेमा उत्तिकै आशावादी छन् ।
‘अहिले वडा नम्बर सातको नतिजा आउँदा हामी साढे चारदेखि ५ सय मतको अग्रतामा हुनेछौं,’ कांग्रेस झापा ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले भने, ‘त्यसपछि ५ मा एमालेले केही बढी ल्याउँछ। तर ७ सातसम्मको अग्रताले गर्दा हामी नै अघि हुन्छौं। ६ मा बराबरी अवस्था भएका कारण हामीले चुनाव जित्ने निश्चित छ।’
यसपटक राप्रपा र एमालेको प्रभाव क्षेत्र मानिने वडाहरू खोसाखोसमा परेको दमकमा अहिलेसम्म राप्रपाका राम थापा अग्रतामै छन्। अहिलेसम्म एमालेले राप्रपाको पुरानो किल्ला वडा नम्बर १ सहित २, ३ ८ ९ जितेको छ भने कांग्रेसले ४ र १० नम्बर जितेको छ ।
कहिले एमाले उम्मेदवारको झिनो मतले अग्रता र अनि कहिले महागठबन्धनका उम्मेदवारको अग्रताले दमकको गणना रोचक पारेको छ । अहिलेसम्म निर्वाचन अधिकृतको कार्यालय दमकले सार्वजनिक गरेको परिणामअनुसार महागठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।