दमक । झापामा निषेधाज्ञालाई खुकुलो बनाउँदै असार ३१ सम्म लम्बाउने निर्णय भएको छ । आज (सोमबार) जिल्ला प्रशासन कार्यालय झापामा बसेको डिसीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो ।
बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजे देखि बेलुका ५ बजेसम्म लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ । त्यस्तै होटेल तथा रेष्टुरेन्टहरुले टेक–अबे सेवाकै रुपमा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाद्वारा जारी निषेधाज्ञामा उल्लेख गरिएको छ ।
यसैगरी मध्यराती १२ बजेदेखि सवारीसाधनको हकमा सार्वजनिक तथा निजी सवारीसाधन खुलाउने निर्णय गरेको छ । सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी र इलाम जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउन पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।
अन्यको हकमा यथावत नै रहने गरी जारी निषेधाज्ञामा उल्लेख भए बमोजिम नै लागू गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।




