एजेन्सी । कोपा अमेरिकाको सेमिफाइनल खेल सकिएको छ । पहिलो सेमिफाइनलमा ब्राजिलले पेरुलाई र अन्तिम सेमिफाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई पराजित गरि यि दुई टिमबिच फाइनल खेलमा पक्का भिड्ने निश्चित गरेका छन् ।
बुधबार बिहान कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो । खेलमा अर्जेन्टिनाले सातौं मिनेटमा लियोनल मेसीले डिबक्स भित्रबाट उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै अग्रता दिएका थिए ।

तर, दोस्रो हाफको ६१ औं मिनेटमा कोलम्बियाका लुइस डियाजको गोलमार्फत खेलमा फर्किएको थियो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट अर्जेन्टिनाले ३–२ ले बाजी मारेको हो ।
टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।
कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल रह्यो । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भएको थियो ।

यस्तैगरी सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो । ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।
दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।
आयोजक ब्राजिल र अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो । रोचक कुरा अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसंग फाइनल खेल्न लागेको हो । नेयमार भर्सेज मेस्सीको भिडन्त अब फाइलनसँगै सकिनेछ ।