एजेन्सी। हाइटीका राष्ट्रपति जोभनेल मोइजको सरकारी निवासमा हत्या भएको छ । ५३ वर्षीय मोइजको निवासमै भएको आक्रमणमा ज्यान गएको हाइटीका अन्तरिम प्रधानमन्त्री क्लोड जोजेफले वक्तव्यमार्फत जानकारी दिएका हुन् ।
बिबिसीका अनुसार पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समय अनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरेका थिए । आक्रमणमा प्रथम महिला घाइते भएको विवरणमा जनाइएको छ ।

अन्तरिम प्रधानमन्त्री जोजेफले ‘राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएका छन् । मोइजले सन् २०१७ को फेब्रअरी महिनादेखि हाइटीको सत्ता सम्हालेका थिए । भ्रष्टाचारका अभियोगहरूका माझ मोइजको कार्यकाल सहज थिएन र उनले सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शनहरूका लहरको सामना गर्नु परिरहेको थियो ।
यसै वर्ष केही अघि राजधानी र देशका अन्य शहरहरूमा पनि मानिसहरूले उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शनहरू गरेका थिए । हाइटीको विपक्षी राजनीतिक दलको भनाइमा राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै समाप्त भइसकेको हो, जुन उनका पूर्ववर्ती मिशेल मार्टेलीले पद त्याग गरेको मिति देखि ठिक पाँच वर्ष पुगेको दिन हो ।
तर, मोइजले आफूले सोही मितिदेखि नै सत्तारोहण नगरेकाले आफ्नो कार्यकाल अझै एक वर्ष बाँकी रहेको बताउँदै आएका थिए ।