प्रदेश प्रमुख खापुङद्धारा नयाँ सरकार गठनको आव्हान

 लिम्बुवान न्युज
                       

दमक, १७ असार । प्रदेश १ का प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् ।

खापुङले नयाँ सरकार गठनका लागि चार दिन अर्थात् असार २१ गते अपरान्ह ५ बजेसम्मको समय दिएका छन् ।

हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानूनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।

यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनु पर्ने दाबीगर्दै आएको थियो । प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो ।

प्रदेश प्रमुखबाट सरकार गठनको आव्हान भएसँगै एमाले, काँग्रेस, माओवादीलगायतका दलहरु आफ्नै दलको नेतृत्वमा सरकार बनाउन दौडधूपमा लागेका छन् । कार्की नेतृत्वको सरकार ढलेसँगै एक पक्षीय, दुईपक्षीय छलफलमा रहेका दलहरुले आइतबार दिनभर काठमाडौंमा आ–आफ्ना पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।

मुख्यमन्त्रीका मुख्य दावेदार माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नै पार्टीका नेताहरुसँग भेटघाट भएपनि अन्य दलका नेताहरुसँग कुनै छलफल र भेटघाट नभएको बताए । ‘भर्खरै सरकार गठनको आव्हान भएको छ,’ उनले भने, ‘अब समयमै नयाँ सरकार गठन गर्नेछौं ।’

उता, नेपाली काँग्रेस कोशी प्रदेश समितिको पदाधिकारीको बैठक पनि काठमाडौंमा बसेको छ । उक्त बैठकले आफ्नै दलको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको काँग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । उक्त बैठकले आफ्नै दलका नेता उद्धब थापालाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय पनि गरेको उनले बताए ।

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...