अपाङ्गता भएकालाई आगामी निर्वाचनमा सहभागी गराउने प्रतिवद्धता

 लिम्बुवान न्युज
                       


बिर्तामोड, भदौं ३० । अपाङ्गता भएका व्यक्तिहरुकोे राजनीतिक अधिकार सुनिश्चित गर्दै निर्वाचनमा उनीहरुको सहभागिताका लागि झापाका राजनीतिक दलसहित सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
मंसिर ४ मा हुने निर्वाचनबाट प्रतिनिधि तथा प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताका लागि दलका प्रमुख तथा प्रतिनिधिहरुले सो प्रतिवद्धता जनाएका हुन् । नेत्रहीन युवा संघ नेपालको आयोजना तथा संवाद समूह झापाको सहकार्यमा बिर्तामोडमा बिहीबार सम्पन्न कार्यक्रममा दलहरु प्रमुख तथा सरोकारवालाले समावेशी सिद्धान्तअन्तर्गत अपाङ्गता भएकाहरुको सहभागिता महत्वपूर्ण रहेको बताए ।
उनीहरुले आगामी निर्वाचनमा झापा जिल्लामा अपाङ्गतामैत्री संरचना निर्माणमा समेत प्रतिवद्धता जनाएका छन् । मतदानमा अपाङ्गता भएकाहरुको पूर्ण सहभागिताका लागि मतदान स्थल तथा केन्द्रहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइयो । कार्यक्रममा नेत्रहीन युवा संघ नेपालका जिल्ला अध्यक्ष दिलकुमार राजवंशीले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको निर्वाचनमा सहभागिता सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचनमा सहभागी हुँदा विगतमा देखिएका समस्याहरु, अपाङ्गता भएकाहरुका लागि निर्वाचन प्रक्रियामा गर्नेपर्ने सुधारका पक्षहरुलगायत विषय राखेका थिए ।


कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले अपाङगता भएकाहरुबारे संविधानमा भएको व्यवस्था कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले प्रतिनिधिसभा र प्रदेशसभामा अपाङगता भएकाहरुको सहभागिताबारे राजनीतिक दलहरुलाई निरन्तर दबाब दिनुपर्ने बताए । उनले मतदान केन्द्रहरु अपाङ्गतामैत्री बनाउने प्रयास गर्ने बताए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले संसदमा अपाङ्गता भएकाहरुको प्रतिनिधित्वबारे स्पष्ट कानुनी व्यवस्था भएपनि अपांगता भएकाहरु राजनीतिक दलको तर्फबाट उम्मेदवार बन्न नसक्नु दुखद् भएको बताए । उनले आगामी निर्वाचनमा अधिकतम् मतदानस्थल अपांगतामैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण हुमागाईले अगामी निर्वाचनमा अपांगता भएकाहरुलाई पनि समेट्ने विषयमा छलफल अघि बढाउने धारणा राखे । उनले कांग्रेसको विधानमै अपांगता भएकाहरुलाई पनि समेट्नुपर्ने भन्ने व्यवस्था रहेकाले विधानअनुसार अपांगता भएकाहरुको माग सम्बोधन गर्ने बताए । नेकपा एमालेका सचिवालय सदस्य देवराज कार्कीले अपांगता भएकालाई छुटाएर निर्वाचनमा जाँदा समावेशी सिद्धान्त विपरित हुने बताए । उनले एमालेले समावेशी सिद्धान्तलाई पूर्ण पालना गर्दै अपांगता भएकाहरुको प्रतिनिधित्व आगामी निर्वाचनमा गराउनेबारे पार्टीभित्र छलफल चलाउने प्रतिवद्धता व्यक्त गरे ।
राप्रपाका जिल्ला अध्यक्ष केशव ओझाले अपांगताबारे अब बहस मात्र नभई व्यवहारिक पाटोमा ध्यान दिनुपर्ने बताए । उनले आगामी निर्वाचनमा मतदानस्थलहरुमा सहजै पुगेर जिल्लाका सबै अपांगता भएकाहरुले मतदान गर्न सक्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशीले उम्मेदवार छनोट गर्ने समयमा अपांगता भएका व्यक्तिहरुलाई पनि आगामी निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने भन्ने कुराको उठान सही समयमा भएको बताए । उनले अपांगतामैत्री निर्वाचन प्रणालीबारे आफूले पटकपटक कुरा उठाएको र आगामी दिनमा पनि त्यसका लागि पहल गर्ने बताए ।
कार्यक्रममा नेत्रहीन युवा संघ नेपालले आगामी निर्वाचनमा अपाङ्गता भएकाहरुको उम्मेदवारी सुनिश्चितता तथा अपांगता भएकाहरुको सवालहरु समेटिएको ज्ञापन पत्र समेत जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बुझाएका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला सहसचिव अर्जुन कुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष उमेश खरेल, उद्योग वाणिज्य संघ बिर्तामोडका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, अधिवक्ता कविता बास्तोला, सारदा रिजाल, नारी कल्याण समाज झापाकी अध्यक्ष प्रेमा भट्टराईलगायतले आगामी निर्वाचनबाट अपांगता भएकाहरुको पनि राजनीतिक सहभागीता हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले विगतमा अपांगतामैत्री मतदानस्थल नहुँदा अपांगता भएकाहरु मतदानस्थलसम्म पुगेर मतदान नगरी फर्किनुपर्ने अवस्था रहेकोमा आगामी निर्वाचनमा त्यस्तो हुन नहुने बताएका थिए ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...