झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै महालक्ष्मी–जय धनन्जय जेभीका नाममा सातदिने आशयको सूचना प्रकाशित गरेको हो।
डिभिजनद्वारा जारी सूचनाअनुसार बोलपत्र मूल्याङ्कनका क्रममा महालक्ष्मी–जय धनन्जय जेभीको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही ठहर भएको हो। उक्त कम्पनीले भ्याट र पिएस (PS) सहित १ अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसा कबोल गरी न्यूनतम मूल्याङ्कन मूल्याङ्कित बोलपत्रदाताका रूपमा छनोट भएको छ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४७ बमोजिम ठेक्का स्वीकृतिका लागि सिफारिस गरिएकाले यो आशयको सूचना जारी गरिएको सडक डिभिजन दमकले जनाएको छ। सात दिनको अवधिमा कुनै उजुरी वा दाबी विरोध नआएमा कम्पनीसँग औपचारिक ठेक्का सम्झौताको प्रक्रिया सुरु हुनेछ।
यसअघि तिहारलगत्तै सडकको नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तय भएको थियो। आशयको सूचना सार्वजनिक भएसँगै लामो समयदेखि रोकिएको ठेक्का सम्झौता र निर्माण कार्यले पुन: गति लिने निश्चित भएको छ।
झापाको दमकबाट सुरु भई इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने यो सडक निर्माणमा भएको ढिलाइले सर्वसाधारण तथा स्थानीयवासीले लामो समयदेखि सास्ती भोग्दै आएका थिए। नयाँ ठेक्का प्रक्रिया अघि बढेसँगै सडक निर्माण चाँडै सम्पन्न हुनेमा स्थानीयवासी आशावादी देखिएका छन्।