नेकपा फुटकाे संघारमा, ओली र प्रचण्डले थाले यस्तो तयारी

 लिम्बुवान न्युज
                       

काठमाडौँ । सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ ।’

पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि लेखेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन ।’

दुई अध्यक्षबीच भइरहने झगडाका कारण के नेकपा फुटको संघारमा पुगेकै हो त ? त्यो परिस्थितिलाई महासचिवको फेसबुक स्टाटसले मात्र होइन, प्रधानमन्त्रीको भनाइले पनि संकेत गरेको छ ।

बैठकको माग राख्दै शनिबार भेट्न पुगेका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष एवं प्रधामन्त्री केपी शर्मा ओलीले भनिदिएछन्, ‘यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं। सल्लाहले नै फुटाऔं ।’ दाहालले आफ्नो निवासमा समर्थक नेताहरूलाई बोलाएर आइतबार यसबारे जानकारी दिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । दुई अध्यक्षको शक्ति संघर्षले नेकपालाई एकताको साढे दुई वर्षमै विभाजनको डिलमा पु¥याएको हो ।

यसलाई उक्साउन र एकता बचाउन दुवै खाले रणनीतिमा पार्टीभित्र विभिन्न समीकरण बन्न थालेका छन्। यही क्रममा दुवै अध्यक्षले निकट नेताहरूसँग तीव्र छलफल चलाएका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार बिहान आफूनिकट नेता ईश्वर पोखरेल, पौडेल, शंकर पोखरेल, सुवास नेम्बाङ र सचिवालयका सल्लाहकारहरूसँग संवाद गरे । शनिबार मात्रै गण्डकी प्रदेश फर्केका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङलाई ओलीले काठमाडौं फर्किन निर्देशन दिएका छन् ।

उता, दाहालले बहुमत सचिवालयका सदस्यहरूको भेला आइतबारै खुमलटारमा गरे । छलफलमा गृहमन्त्री रामबहादुर थापासहित ६ जना सहभागी थिए। त्यही क्रममा दाहालले प्रधानमन्त्रीको अभिव्यक्तिबारे अवगत गराएका हुन् । सधैं किचलो र झैझगडा गरेर एकै पार्टीमा बस्नुभन्दा अलग्गिनु उचित हुने प्रधानमन्त्रीको भनाइ थियो ।

‘पार्टी नेताहरूले बैठक राख्न माग गरिरहनुभएको छ । प्रचण्ड कमरेडले प्रधामन्त्रीसँग समसामयिक विवादास्पद विषयमा कुरा प्रस्ट पार्न सचिवालय बैठक बोलाऔं भन्नुभएछ’, खुमलटारमा दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने, ‘तर, प्रधानमन्त्रीले बैठक राख्दिनँ भन्नुभएछ । केन्द्रीय कमिटी, स्थायी समिति वा सचिवालय जुनसुकै बैठक राखेर कुनै निर्णय गरे पनि म मान्दिनँ भन्नुभएछ ।

बरु तपाईंहरूले बैठक बसेर निर्णय गर्नुभयो भने त्यसविरुद्ध एक्सनमा जान्छु भन्नुभएछ । अब यही तरिकाबाट पार्टी कसरी अगाडि जान सक्छ ? यही अवस्थामा रहनुभन्दा सल्लाहमै अलग–अलग पार्टी चलाएर जाऔं । सल्लाहले नै फुटाऔं भन्नुभएछ ।’

दाहालको ब्रिफिङमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र गृहमन्त्री थापा सहभागी थिए । ‘प्रधानमन्त्री अब सँगै जान सकिँदैन मात्रै भन्नुहुन्छ, अब भन्नुस् के गर्ने ?’, दाहालले सचिवालयका सदस्यहरूलाई सोधेका थिए ।

प्रत्युत्तरमा बाँकी नेताले एकता कुनै हालतमा भंग हुन दिन नहुने सुझाव दिएका थिए । उक्त भेलाले पार्टी बैठक बोलाउन ओलीमाथि दबाब बढाउने निष्कर्ष निकालेको छ । त्यसका लागि आवश्यक परे सामूहिक रूपमै प्रधानमन्त्रीसँग भेट्ने र कुरा राख्ने तय भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...