काठमाडौं : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा अब मात्र दुई म्याच बाँकी छन् । दोस्रो क्यालिफायर र फाइनल म्याच मात्र बाँकी रहेका हुन् ।
फाइनल खेल्ने एक टिम पक्का भइसकेको छ । यो सिजनमा पनि मुम्बई इण्डियन्सले फाइनलको टिकट पक्का गरिसकेको हो ।
आज फाइनल खेल्ने दोस्रो टिमको टुंगो लाग्ने छ । दोस्रो क्वालिफायरमा फाइनल प्रवेश गर्न दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्दै छन् ।
तपाईलाई आईपीएल २०२० को विजेता, उपविजेता तथा ‘प्लेअफ’ मा पुग्ने टिमले पाउने पुरस्कारको बारेमा थाहा छ? यदि थाहा छैन भने आज जानकारी दिँदैछौँ ।
जारी आईपीएल विजेता टिमले गत वर्षभन्दा कम पुरस्कार राशि पाउने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले यो पटक २०१९ को सिजनकोभन्दा ठ्याक्कै आधा पुरस्कार राशि दिने निर्णय गरिसकेको छ ।
गत सिजनमा मुम्बई इण्डियन्सले ट्रफीसहित नगद २० करोड भारु पुरस्कार पाएको थियो । तर, आईपीएल २०२० मा विजेता बन्ने टिमले १० करोड भारु पुरस्कार पाउने छ ।
यो पटक उपविजेता टिमले ६ करोड २५ लाख भारु पाउने छ । गत सिजनमा उपविजेता बनेको चेन्नई सुपर किंग्स (सीएसके)ले साढे १२ करोड भारु पाएको थियो ।
विजेता र उपविजेता टिमले मात्र होइन ‘प्लेअफ’मा पुग्ने टोलीले पनि पुरस्कार रकम पाउने छन् । क्वालिफायर २ र एलिमिनेटरमा हार्ने टिमले पनि चार करोड बढी रकम पाउने छन् ।
Related