
लिम्बुवानखबर, ५ मंसिर । नेपाली काँग्रेस पाँचथरको प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रदेश ‘क’ को सभापतिमा भगिश्वर योङहाङ र प्रदेशसभा ‘ख’ को सभापतिमा मैया श्रेष्ठ (लाओती) निर्वाचित भएका छन् ।
शनिबार साँझ आएको अन्तिम मतपरिणाम अनुसार निर्वाचन क्षेत्र ‘क’ सभापतिमा योङहाङ २६९ मतकासाथ बिजयी बनेका हुन् । उनका प्रतिश्पर्धी कुमार राई (प्रताप) ले २६२ मत प्राप्त गरे । उपसभापतिमा भरत खपाङ्गी र सीताराम न्यौपाने सर्बसम्मत निर्वाचित भएका छन् । सचिवमा सुन्दर आचार्य र सन्तोष मोक्तान त्यस्तै सहसचिवमा नरेन्द्र पन्धाक र सुन्दर थोक्लिहाङ विजयी बनेका छन् । पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा योङहाङको प्यानलै बिजयी बनेको हो । निर्वाचन क्षेत्र ‘क’ मा जम्मा ५८४ मतमध्ये ५७२ मत खसेको थियो ।
त्यस्तै पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा मैंया श्रेष्ठ (लाओती) निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी नगेन्द्र कुमार लामालाई पराजीत गरेकी हुन् । श्रेष्ठले २७३ मत प्राप्त गर्दा लामाले २०९ मत प्राप्त गरेका थिए । उपसभापतिमा जीत बहादुर भण्डारी र तेज बहादुर चेम्जोङ निर्वाचित भएका छन् । भण्डारी श्रेष्ठ प्यानल र चेम्जोङ लामा प्यानलका हुन् । सचिवमा भने भरत तुम्बापो र भक्त लाओती निर्बिरोध निर्वाचित भएका छन् । सहसचिवमा लामा प्यानलका नरेन्द्र शेर्मा र श्रेष्ठ प्यानलका ज्योति प्रभा भण्डारी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र ‘ख’ मा ५०५ मतमध्ये ४९३ मत खसेको थियो ।
पाँचथर काँग्रेसमा यसपल्ट निकै कडा प्रतिश्पर्धा देखिएको छ । जिल्ला नेतृत्वका लागि सुरेन्द्र कुमार दाहाल र रुपनारायण जबेगु प्यानल सहित चुनाबी मैदानमा छन् । निर्वाचित क्षेत्रीय सभापतिमध्ये योङहाङलाई जबेगु र श्रेष्ठलाई दाहालको साथ थियो ।