अन्तत फूटको अन्तिम जोरघटाउमा जुट्दै नेकपाः निर्वाचन आयोगबाट कस्ले पाउने आधिकारिता ?

 लिम्बुवान न्युज
                       

  • दिल कुमार लावती

नेपाली एउटा कथन छ “पार्टी कहिल्यै आफ्नो हुँदैन” हो त्यहिको उपज यतिबेला ठूलो पार्टीको दम्भ बोकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरकलहबाट छताछुल्ल भएको छ । नेपालको बाम राजनीतिले साढे पाँच दशकको इतिहास बनाएको छ तर यो विचमा अनेक टुटफूट र बिग्रहको कारण अहिले पुनः देशमा तरङ्ग छाएको छ ।
२०७५ साल जेष्ठ ३ गतेका दिन दुई ठूला बाम घटक नेकपा एमाले र माओवादी केन्द्र बिच महान एकता भएको सन्देश आम नेपाली जनतालाई दिए । देशलाई “समृद्ध नेपाल सुखी नेपाली”को नारा दिएर ऐतिहासिक प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव गरेर वाम शक्तिलाई करिबकरिब दुईतिहाईको हाराहारीमा पु¥याए तर विडम्बना एकीकरणको दुई बर्ष पाँच महिना पनि टिक्न सकेन । पार्टी एकताको महाधिवेशनसम्मको सन्देश नेपाली जनतालाई दिन नसक्ने एकता अन्ततः फूटको अन्तिम संघारमा रुम्मलिएको छ । मंगलबारको घटनाले स्पष्ट बताउँछ कि अब बाम एकताको देहावसान भएको छ ।
यो विभाजनले एकपक्ष पार्टीको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले लिएका छन् भने अर्को पक्षको नेतृत्व पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनालले संयुक्त रुपमा लिएका छन् । सरसर्ती र अंकगणितीय हिसाब गर्ने हो भने ओली भन्दा अर्को पक्ष दर्विलो देख्नु स्वभाविक नै हो ।

मूलत पार्टी एकताकै बलमा २०७४ को निर्वाचनमा सफलता प्राप्त गरेको नेकपाले प्रदेशसभामा ७ प्रदेश मध्ये ६ वटामा भने दुईतिहाई मत सहित सरकारको नेतृत्व गरेर बसेको छ । अब पार्टी फूटको असर प्रदेशसम्म पुग्नेमा कुनै दुईमत नै छैन । सम्भवतः निर्वाचन आयोगको निर्णयले प्रदेशमा सरकारको निर्धारण गर्ने आकलन गर्न सकिन्छ ।

दुई ध्रुवमा बाँडिएका नेताहरुमा केन्द्रीय कमिटी, संसदमा जोड घटाऊ र प्रदेश सरकार अनि प्रदेश कमिटीसम्म असर पर्दै तल्लो इकाई कमिटीसम्म असर पर्दै जानेमा कुनै शंका देखिदैन ।

नेकपाको एकीकरण रुप भन्दा विभाजनको रुपमा फरक देखिएको छ । ओली एक्लैले अध्यक्षको भूमिका ग्रहण गर्दै छन् भने अर्को पक्षमा प्रचण्ड–माधवको संयुक्त नेतृत्वमा पार्टी विभाजन भएको छ । यसर्थः अब पार्टी विभाजित हुँदा पूर्व एमाले र पूर्व माओवादीका रुपमा भएको छैन । यो विभाजनले नेकपा एमाले र माओवादी नाम आर्यघाट मै भष्म भएको पुष्टि हुन्छ ।

दुई गुट ओली र प्रचण्ड–माधव पक्षले मंगलबार आफू मातहतका नेताहरुको भेलाको दृश्य हेर्दा छर्लङ्गै देख्न सकिन्छ । पूर्व एमाले र पूर्व माओवादी दुईतिरै बाढिएका छन् तर दृश्यलाई नजिकबाट हेर्ने हो भने एमाले चाँहि दुई टिक्रा नै भएको प्रमाणित हुन्छ । पूर्व माओवादीका उच्च तहका नेता लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा मात्रै ओली पक्षमा सामेल भएका छन् ।

तर, प्रचण्ड–माधवको साथमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल जो एमालेको तीनपटकसम्म नेतृत्व सम्महालेका हस्ती समेत रहेका हुँदा यो समूहमा भने ठूलो संख्यामा पूर्वएमाले पृष्ठभूमिका नेताहरु देखिन्छन् । बबरमहलस्थित कार्की ब्याङ्केटमा मंगलबार भएको केन्द्रीय नेताहरुको भेलामा माधव नेपाललाई अध्यक्षको प्रस्ताव उनै पूर्वप्रधानमन्त्री खनालले प्रस्ताव गरेका हुन् ।

राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरे लगतै सत्तारुढ नेकपा पार्टी विभाजनको अवस्थामा पुगेको ओली र प्रचण्ड–माधव दुवै पक्षले पक्कै पनि पार्टीको संगठन र नाममा दावी गर्नु स्वभाविकै हो । तर निर्वाचन आयोगबाट जब फैसला आउँछ तब मात्र संगठन, नाम र निर्वाचन चिन्ह टुंग्गो लाग्छ । यस्तो अवस्थामा पार्टीको नाम र संगठनात्मक संरचनामा भने दुवै समूहको दाबी देखिन्छ भने निर्वाचन चुनाव चिन्हबारे चाहि पार्टीको नाम टुंगो नलागेसम्म प्रष्ट नहुने देखिन्छ ।

प्रधानमन्त्री केपी ओली पक्षले मंगलबार बिहान ९ बजे देखि नै सरकारी निवास बालुवाटारमा आफूनिकट नेताहरुको बैठक राखी नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका छन् । ओलीले साविकको केन्द्रीय कमिटी सदस्य (४४५)संख्यामा थप ५५६ जनालाई केन्द्रीय कमिटीमा नियुक्त गर्दै ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएर २०७८ मंसिर २ गते महाधिवेशन गर्ने घोषणा गरेका छन् ।

ओलीले बैठकबाट प्रवत्ता नारायणकाजी श्रेष्ठलाई कारवाही गरि प्रदीपकुमार ज्ञवालीलाई बनाएका छन् । यसको जानकारी मंगलबार नै निर्वाचन आयोगलाई दिईसकेका छन् । यि बाहेक जस्ताको त्यस्तै सबै नेताहरुलाई यथावत ठाउँमा राखेका छन् । यसरी हेर्दा पूर्व एमाले ब्यूतिन्छन् कि भन्ने आशंका गर्ने ठाउँ देखिदैन । तर राजनीति विश्लेशकहरुको कुरालाई मान्ने हो भने ओली स्वयम् नेकपाको नेतृत्व आफू नै रहेको प्रमाणित गर्नलाई यस्तो रणनीति अपनाइएको पनि हुन सक्ने वताउँछन् । तर, आफू निकटका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेर शपथ गराउने काम समेत गरेको हेर्दा छर्लङ्गै हुन्छ कि अब पार्टी विभाजित भएको नै हो ।

उता प्रचण्ड र माधव पक्ष अझ प्रष्ट छन् कि तीनै कुरामा हाम्रो दाबी रहन्छ । अझ यो पक्षले हाल कायम केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत रहेको दाबी गरेका छन् । १७४ मध्ये ९० जना प्रतिनिधिसभा सदस्य साथै ५० मध्ये २४ जना राष्ट्रियसभा सदस्यको हस्ताक्षर नै संकलन गरेको यो समूहले र बोलाएको केन्द्रीय कमिटी बैठकमा ४४५ मध्ये ३१५ जनाले हस्ताक्षर संकलन गरेको दाबीसँगै पार्टी नाम, संगठन र निर्वाचन चिन्हमा दाबी गरेको छ ।

मंगलबार बसेको प्रचण्ड–माधव पक्ष भेलाले केपी ओलीलाई बर्खास्त गर्दै माधव नेपाललाई सर्वसम्मतले अध्यक्ष चयन गरेका छन् । बाँकी कुनै पदको विषयमा टुङ्गो नलगाएको स्रोतबाट खुल्न आएको छ । बिस्तारै पदहरुको मिलान गर्न सक्ने स्रोतले बताएको छ । आफूहरु बहुमत रहेको प्रसस्तै आधार भएको हुँदा बैधानिक पार्टीको रुपमा हामी नै हुन्छौं भन्नेमा ढक्क रहेका प्रवक्ता श्रेष्ठको भनाई रहेको छ । त्यसैगरी प्रधानमन्त्रीले संसद विघटन गर्नलाई असंवैधानिक र अराजनीतिक कदम चालेकाले कार्वाही गरिएको भएतापनि अन्य नेताहरुको विषयमा कुनै निर्णय गरिरहनु नपर्ने एक नेताको तर्क रहेको छ । उनको भनाई अनुसार हामी विधानसम्वत नै चलिरहेको हुँदा अन्य निर्णय गर्नुको औचित्य नरहेको तर्क गरे ।

बुधबार प्रचण्ड–माधव पक्षले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ । अध्यक्ष माधव नेपालले प्रचण्डलाई संसदीय दलको नेता प्रस्ताव गरेसँगै सर्वसम्मतले सो निर्णय गरेको थियो । सोही बमोजिम बुधबार नै प्रचण्ड–माधव पक्ष पार्टी आधिकारिकताको लागि ३१५ केन्द्रीय समिति सदस्यको नामावली हस्ताक्षर गरी निर्वाचन आयोग पुगेका छन् । अंक गणितलाई सर्सरती हेर्ने हो भने वर्तमान अवस्थामा ओली भन्दा प्रचण्ड–माधवको गुट बलियो र आधिकारिक देखिन्छ तर आयोगको निर्णय कस्तो हुन्छ त्यो भने केही दिन कुर्नु पर्ने देखिन्छ ।

यतिवेदा जोड घटाउ चहिरहँदा ओली पक्षले मनोनित गरेका ५५६ केन्द्रीय सदस्यहरुमा केही नेताहरुले असहमति जनाई रहेका छन् । त्यसैगरी पार्टीका उपाध्यक्ष बामदेव गौतम र सचिवालय नेता एवं गृहमन्त्री रामबहादुर थापा बादल अहिलेसम्म पनि कुनै गुटमा खुलेर आएका छैनन् । यसलाई राजनीति विश्लेषकहरुले अर्थपूर्ण रुपमा लिएका छन् । बरु उनिहरुले छुट्टै भेला डाकेर छलफलहरु चलाईरहेका छन् ।

ओली समूहले आगामी मंसिरमा महाधिवेशन मिति घोषणा गरिरहँदा प्रचण्ड–माधव समूहलाई काउण्टर दिदै भर्खरै पार्टी प्रवक्ताको जिम्मेवारी पाएका प्रदिप ज्ञवालीले ओली समूह बैधानिक भएको तर्क गरेका छन् भने व्यङ्ग गर्दै पार्टीको अध्यक्ष, महासचिव र माइन्यूट बिनाको बैठकको कुनै अर्थ नभएको बताएका छन् । ओली समूहको तर्क संसदीय दल र केन्द्रीय कमिटिको संख्या भन्दा पनि प्रथम अध्यक्ष र महासचिवले नै लेखेको माइन्यूट भएको मात्र बैधानिक हुने तर्क कति तर्कसंगत छ त त्यो भने अब निर्वाचन आयोगले दिने निर्णयले मात्र टुंगो लाग्छ ।

नेकपा भित्रको अचानक फूटले फेरिपनि नेपाली जनताले आशा गरेको दुईतिहाइ नजिकको सरकार प्रति वितृष्णा छाएको छ । अब आउने चुनावले कस्तो नतिजा दिन्छ त्यो भने जनताको मताधिकारले निर्णय गर्छ ।

 

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...