आइपिएलः प्लेअफका ३ टिम लगभग पक्का, शीर्ष २ का लागि रोचक प्रतिस्पर्धा हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौं। इण्डियन प्रिमियर लिगको जारी सिजनका लगभग ७० प्रतिशत खेल सकिएका छन् । ४१ औं खेल सकिँदा प्लेअफ पुग्ने ३ टिन लगभग पक्का भएका छन् । अहिलेको तालिकामा शीर्ष ३ मा क्रमशः मुम्बइ इण्डियन्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर छन् । यी ३ टिम प्लेअफ पुग्ने लगभग पक्का भएको छ । चौथो स्थानको लागि बाँकी ५ टिमबीच प्रतिस्पर्धा छ । यद्यपि चौथो स्थानका लागि मुख्य प्रतिस्पर्धी भने ४ टिम मात्र हुन् । अंक तालिकाको अन्तिममा रहेको चेन्नइ सुपरकिंग्सको गणितीय सम्भावना त बाँकी छ तर त्यो सम्भावना अत्यन्तै झिनो छ र चेन्नइ लगभग प्लेअफको दौडबाट बाहिरिएकै मान्दा अनुचित देखिँदैन ।

यो सिजन शीर्ष २ स्थानमा लागि निकै रोचक प्रतिस्पर्धा हुने निश्चित छ । शीर्षमा रहेका मुम्बइ, दिल्ली र बैंगलोर तीनवटै टिमको अंक १४ छ । अंक समान भएर नेट रनरेटका आधारमा मात्र यी टिमहरु अघिपछि छन् । रोचक त के भने यी तीन टिमका बाँकी खेलहरु एक आपसमै छन् जुन खेल निकै रोमाञ्चक हुनेछन् । यिनै खेलले शीर्ष २ स्थानमा पर्ने वा तेस्रो र चौथो स्थानमा पर्ने भन्ने तय गर्नेछन् । बाँकी खेलमा मुम्बइले एक खेल दिल्लीसँग र एक खेल बैंगलोरसँग खेल्न बाँकी छ । दिल्ली र बैंगलोरबीच पनि एक खेल बाँकी छ । यी तीन खेलले अंक तालिकाको समीकरणमा ठूलो हलचल ल्याउने भएकोले निकै रोमाञ्चक हुनेछन् ।

चौथो स्थानका लागि प्रतिस्पर्धामा रहेका टिमहरुमध्ये कोलकाता नाइटराइडर्स १० अंकका साथ सबैभन्दा अगाडि छ । सनराइजर्स हैदराबाद र किंग्स ११ पंजाबको ८–८ अंक छ । राजस्थान रोयल्सको पनि ८ अंक त छ तर उसले अन्य ३ टिमले भन्दा १ खेल बढी खेलिसकेको छ । अर्थात कोलकाता, हैदराबाद र पंजाबले अझै ४ खेल खेल्न बाँकी छ तर राजस्थानले ३ खेल मात्रै खेल्न बाँकी छ । बाँकी खेल संख्याका कारण राजस्थान कठिन अवस्थामा छ । तालिकाको अन्तिममा रहेको चेन्नइको मात्रै ६ अंक छ र ३ खेल मात्र बाँकी छ । चेन्नइको अब गणितीय सम्भावना बाहेक प्लेअफ पुग्ने स्थिति देखिँदैन । अहिलेसम्मको स्थितिले कोलकातालाई प्लेअफ पुग्ने बाटो सबैभन्दा सहज देखिन्छ ।

प्लेअफ पुग्नको लागि कोलकातालाई अरु टिमलाई जस्तो कठिनाइ नहुनुपर्ने देखिन्छ किनकि अहिलेको तालिकामा कोलकाता ५ खेल जितेर १० अंकका साथ चौथो स्थानमा छ र उसले अझै ४ खेल खेल्न बाँकी छ । उसले बाँकी ४ मध्ये २ खेल मात्र जिते प्लेअफ पुग्न सक्छ । कोलकाताका बाँकी ४ मध्ये ३ खेल पंजाब, चेन्नइ र राजस्थानसँग बाँकी छन् । यी तीनवटै टिम अहिलेसम्म ऊभन्दा पछि भएकोले उसलाई यी टिमसँगको खेल सहज हुने अनुमान गर्न सकिन्छ । कोलकाताको एउटा खेल दिल्ली क्यापिटल्ससँग बाँकी छ । कोलकाताले आफूभन्दा पछि रहेका टिममध्ये जुन टिमलाई हराउँछ कोलकाता प्लेअफको नजिक पुग्नेछ भने हार्ने टिम बाहिरिने खतरासितर धकेलिनेछ ।

सनराइजर्स ८ अंकका साथ पाँचौं स्थानमा छ । पछिल्ला ५ टिममध्ये यो एउटा मात्र टिम हो जसको नेट रनरेट प्लसमा छ । यस्तोमा चौथो स्थानका लागि भएको टक्करमा सनराइजर्सको अरु कुनै टिमसँग अंक बराबरी भयो भने प्लस नेट रनरेटका आधारमा ऊ माथि हुनेछ । तर, सनराइजर्सको लागि सबैभन्दा ठूलो समस्या भनेको उसका बाँकी ४ मध्ये तीन खेल मुम्बइ, दिल्ली र बैंगलोरसँग छ । यी तीनवटै टिम यो सिजन निकै बलिया देखिएका छन् र १४ अंकका साथ शीर्ष ३ स्थानमा छन् ।

किंग्स ११ पंजाबको पनि ८ अंक नै छ तर नेट रनरेटका कारण छैटौं स्थानमा छ । पंजाबका लागि नेट रनरेट एउटा समस्या छ तर बाँकी ४ खेलमा पंजाब फाइदामा छ किनकि पंजाबका बाँकी ४ खेलमध्ये कुनै पनि खेल शीर्ष ३ टिमसँग छैन । तुलनात्मक रुपमा कमजोर टिमसँग मात्रै खेल बाँकी रहेकोले पंजाबलाई बाँकी खेल जितेर अगाडि जाने मौका छ । सातौं स्थानमा रहेको राजस्थान रोयल्स र आठौं स्थानको चेन्नइ सुपरकिंग्स भने आफ्नै दममा प्लेअफ पुग्न सक्ने स्थितिमा छैनन् । अन्य खेलहरुको नतिजा पनि अनुकूल भइदिएमा मात्र यी दुईको प्लेअफ पुग्ने सम्भावना रहनेछ अन्यथा आफूले बाँकी खेल जितेकै भरमा राजस्थान र चेन्नइ प्लेअफ पुग्न कठिन छ ।

(डिसी नेपालबाट)

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...