उद्योग वाणिज्य महासंघको निर्वाचन सकियो शतप्रतिशत मतदान

 लिम्बुवान न्युज
                       

काठमाडौं । उद्योगी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वाषिर्क साधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतदान आज सकिएको छ ।

निर्वाचनमा शतप्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ । जिल्ला नगर, वस्तुगत र एसोसियट तर्फका सबै मतदाताले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत उपेन्द्रकेसरी न्यौपानेले बताए । बिहान आठ बजेदेखि मतदान शुरु भई अपररान्ह ४ बजे सकिएको हो ।

महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधान आ–आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । विधान अनुसार अहिले वरिष्ठ उपाध्यक्षमा निर्वाचित व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएकाले महासंघको चुनावमा वरिष्ठ उपाध्यक्ष पद सर्वाधिक महत्वपूर्ण रहेको मानिन्छ ।

चुनाव अघि नै महासंघको २ केन्द्रीय सदस्यमध्ये प्रदेश १ बाट राजेन्द्र राउत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघबाट सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका थिए । बाँकी अन्य सबै पदहरुमा चुनाव भएको हो ।

मतदानमा जिल्ला नगरतर्फ शतप्रतिशत मत खसेको छ । महासंघमा देशभरका १०५ वटा जिल्ला र नगर उद्योग वाणिज्य संघहरु सदस्य छन् । महासंघको चुनावमा जिल्ला नगरतर्फको मतभार ५० प्रतिशत हुने भएको हुँदा जिल्ला र नगरमा कडा टक्कर भएको छ ।

जिल्ला नगरतर्फका १ जना उपाध्यक्ष पदमा महासंघको लुम्बिनी प्रदेशका अध्यक्ष गुणनिधि तिवारी र बाग्मती प्रदेशका दिनेश श्रेष्ठले भिडेका छन् । श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनी प्रधान प्यानलबाट उम्मेद्वार बनेका हुन् । ढकाल प्यानलबाट उम्मेदवार बनेका तिवारी पनि जिल्ला नगरमा परिचित व्यवसायी हुन् ।

महासंघको कार्यसमितिमा जिल्ला नगरतर्फबाट चयन हुने १८ केन्द्रीय सदस्यका लागि ३८ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेका छन् ।

त्यसैगरी निर्वाचनमा वस्तुगत तर्फ पनि शत प्रतिशत नै मत खसेको छ । वस्तुगत तर्फको मतभार २० प्रतिशत हुन्छ ।

महासंघको वस्तुगततर्फको उपाध्यक्षमा व्यवसायी अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा छन् । महासंघमा १०३ वटा वस्तुगत संघ र १८ वटा द्विदेशीय उद्योग वाणिज्य संघ छन् । द्विदेशीयलाई पनि वस्तुगतमै गणना गरिन्छ । वस्तुगत तर्फका उम्मेदवारमा अञ्जन किशोर प्रधानको प्यानलबाट हुन् भने उमेश चन्द्र ढकाल प्यानलका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ र नेतृ साहना प्रधानका छोरा उमेशलाल श्रेष्ठ ३ कार्यकाल महासंघको केन्द्रीय सदस्य रहेर हाल पनि उपाध्यक्ष छन् । वस्तुगत तर्फका १४ केन्द्रीय सदस्यमा भने २८ जना चुनावी भिडन्तमा छन् ।

मतदानमा एसोसियटतर्फ पनि शतप्रतिशत नै मत खसेको हुँदा कडा टक्कर हुनसक्ने आकलन गरिएको छ । महासंघमा ९ सय ३ एसोसिएट सदस्य छन् । एसोसियटतर्फको मतभार ३० प्रतिशत हुन्छ ।

एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति र रामचन्द्र संघई भिडन्त हुँदैछ छन् । ज्योति प्रधान प्यानल र संघई ढकाल प्यानलका उम्मेदवार हुन् ।

महासंघका पूर्वअध्यक्ष पद्म ज्योतिका जेठा छोरा शौरभ अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष हुँदै महासंघ प्रवेश गरेका थिए । उनी हाल महासंघको राजस्व समितिका सभापति छन् ।

ढकाल प्यानलका उम्मेदवार संघईको बैंक तथा वित्तीय क्षेत्रमा लगानी छ । एशोसिएटतर्फका १९ केन्द्रीय सदस्यका लागि ३१ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

आज राती नै नतिजा आउन सक्नेः

मतदान सकिएपछि अब छलफल मार्फत मतगणना सुरु गर्ने समय तय हुनेछ । मतगणना सुरु गरिहाल्ने योजना भएकाले सम्भवतः आज रातिसम्ममा महासंघले नयाँ कार्यसमिति पाउनेछ ।

महासंघको नयाँ कार्य समिति चयनको लागि तीन स्थानबाट मतदान गरिएको थियो । महासंघको केन्द्रीय कार्यालय टेकु, कार्की व्यांक्वेट बबरमहल र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदान भएको हो ।

महासंघको ५४ औं साधारणसभा ११ मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट साधारणसभा उदघाटन गरेका थिए । बन्दशत्र पनि भर्चुअल माध्यमबाटै गरिएको थियो । गत चैतमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोरोनाका कारण पटक–पटक स्थगित भएको थियो ।

महासंघको विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन्् ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...