काठमाडौं। नेपाल पत्रकार महासंघले कोरोना महामारीमा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ । कोरोना संक्रमण नयाँ भेरियन्ट सहित दोस्रो लहरमा फैलिएसँगै निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना बाहिर आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी दिएको हो ।
महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि वहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे । उनले कोभिड १९ को पहिलो लहरमा जस्तै दोस्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुका निम्ति महासंघले कानुनी लडाइ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताए ।
महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता औंल्याए । महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ ।
महासंघले कोरोना संक्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । महासंघको केन्द्रीय कार्यालयमा रहेको आवास गृहमा आइशोलेसन बेड निर्माण गरिएको छ । त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वतलगायतका जिल्लामा अक्सिजन, चिकित्सक सहितको आइशोलेसन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिए । काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भईआएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आइसियु, भेन्टिलेटर मिलाउने जस्ता काम महासंघले गरिरहेको उनले बताए ।
महासंघका अनुसार जेठ २ गतेसम्म मुलुकभर करिब ८०० जना पत्रकार कोरोना संक्रमित भएका छन् । जसमध्ये २५० भन्दा बढी सक्रिय संक्रमित छन् भने ४० जना अस्पतालमा उपचार गराइरहेका छन् । ६ जनाको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ भने संक्रमणबाट हालसम्म १३ जना पत्रकारले ज्यान गुमाए सकेका छन् ।