दमक। जातीय मुक्ति आन्दोलनका धरोहर दमकका सामाजिक व्यक्तित्व दमक ३ का लाखजित नेम्बाङकाे निधन भएको छ । आज विहान १० बजे आफ्नै निवासमा ६६ बर्षीय नेम्बाङकाे निधन भएको हो ।
विक्रम सम्वत् २०१२ साल भदौमा जन्मनु भएका नेम्बाङ् तत्कालीन संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद दमक नगरका संस्थापक नगर अध्यक्ष हुन् । २०६२ साल देखि पहिचान सहितको लिम्बुवान प्राप्तिको हरेक आन्दोलन र मोर्चाहरुमा दमकको अग्रपंक्तिमा उभिएर लडेका नेम्बाङ् सामाजिक कार्यमा औधी रुचि राख्ने गर्दथे । रणध्वोज नेम्बाङ् स्मृति प्रतिष्ठानका अध्यक्ष, किरात याक्थुङ चुम्लुङका निवर्तमान नगर सदस्य लगायत दर्जनौं संस्थामा आवद्ध नेम्बाङ् एक भाषा, संस्कार संस्कृति र समाज प्रति निष्ठावान रहेका थिए ।

लिम्बुवान राजनीतिमा विभिन्न उदारचढाप आइ रहेतापनि निरन्तर संघीय मञ्चमा आस्था राख्ने हुने नेम्बाङ् बृहत लिम्बुवान एकतापश्चात निश्कृय जस्तै भएका थिए । हाल आएर मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको प्रान्तीय सचिवालय सदस्यमा पदन्नोति हुनुभएका नेम्बाङ् लिम्बुवान भनेपछि मरिहत्ते गरेर लागि पर्ने र वहाँको रगतको कणकणमा पहिचान र लिम्बुवान सलबलाई रहने एक असल अभिभावक मञ्चले गुमाउन पुगेको मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले बताउनु भएको छ । मृतक नेम्बाङकाे नेतृत्वमा केयौं पल्ट दमकमा लिम्बुवान आन्दोलन उठेको स्मरण गर्दै अध्यक्ष लिङ्देनले वहाँको योगदानलाई लिम्बुवानले सुनौलो अक्षरले लिपिबद्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।

आजै मृतक नेम्बाङकाे किरात धार्मिक परम्परा अनुसार हंसेदुम्से सामुदायिक बनको समाथिस्थलमा अन्तिम दाहसंस्कार गरिएको थियो । भौतिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गर्दै उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै लिम्बुवान मञ्चले पार्टीको झण्डा समाथिस्थलमा चढाएको छ ।