पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा ७ नाँलपा रानीटारमा किरात धर्मावलम्बीहरुले महागुरु फाल्गुनन्द युमा माङहिम निर्माण गरेका छन् । फिदिम वडा ७ बाट ५० हजार रुपैयाँ सहयोग र स्थानिय किरातधर्मावलम्बीहरुको १ लाख ५० हजार रुपैयाँको लागतमा सो माडहिम निमार्ण सम्पन्न भएको हो ।
शनिबार सामाजिक दुरी कायम गरी किरात धार्मिक परम्पराअनुसार सेवासावाद्वारा मुन्धुम पढेर माङहिमको उद्घाटन गरिएको छ । किराँत धर्मका जन्मदाता महागुरु फाल्गुनन्द लिडदेन गाँउगाउँमा पुगेर अनुयायी चुलाभुलाहरुलाई धार्मिक ज्ञान बाढ्ने क्रममा वि.स. १९८६ सालमा उक्त ठाँउमा रहेको ओढारमा एक रात विताएकोले सो ठाँउलाइँ पवित्र स्थानका रुपमा मानी सो स्थानमा माडहिम निर्माण गरिएको समितीका अध्यक्ष बल बहादुर नेम्वाडले बताए ।
कोरोना महामारीमा सरकारले समुदाय भेला गर्न रोक लगाएको अवस्थामा सामाजिक दुरी कायम गर्दै फाल्गुनन्द लिङदेनका अनुयायी किराँत धर्मावलम्वीहरु भेला भई माङहिमको उद्घाटनसँगै पुजाआजा आरम्भ गरिएको हो । स्थानिय किराँत धर्मगुरु मनकुमार नेम्बाडले थेवाथान स्थापना गरी १ सय ८ बत्ती बालेर पुजापाठ गरी माङहिमको उद्घाटन गरेका थिए ।
यस माङहिममा हरेक महिनाको ५ गते पुजा गर्ने र हरेक बर्ष जेठमा ठुलो पुजा गर्ने माङहिम निर्माण समितिका अध्यक्ष नेम्बाडले बताएका छन् ।