लिम्बुवानखबर। जनता समाजवादी पार्टी (जसपा) नेपालमा यतिबेला दुई पक्षबीच स्पष्टीकरणको जुहारी चलेको छ । एक पक्षले अर्को पक्षलाई सोधेको स्पष्टीकरणको जवाफ एकअर्काले फर्काएका छैन । जसपाका अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए भने यादवले पनि अध्यक्ष ठाकुरलाई नौ बुँदे स्पष्टीकरण पत्र पठाएका थिए ।
जेठ ११ गते दुवै पक्षले पत्र लेखेर एक अर्कालाई तीन दिनभित्र स्पष्टीकरणको जवाफ दिनु भनेर लेखिएकाे पत्रकाे १३ गते नै म्याद सकिए पनि आज सम्म एक अर्कालाई जवाफ दिएका छैनन् ।
जसपा विवाद उत्कर्षमा पुगेपछि अब वार्ताको माध्यमबाट पार्टीको समस्या समाधान गर्ने पहल सुरु भएको पार्टी स्रोतले बताएको छ । पार्टीका नेताहरूबाट अनुशासन उल्लंघन भएको कारण स्पष्टीकरण सोधिएको तर जवाफ नआएपछि अब वार्ताको माध्यमबाट विवाद समाधान गर्ने प्रयास भईरहेको अध्यक्ष यादवले बताउनु भयो । उनले यसबारे शीर्ष तहमा कुराकानी भइरहेको समेत जनाउनु भएको छ ।
अध्यक्ष यादवले पत्रमा तीन दिनभित्र स्पष्ट र चित्त बुझ्दो जवाफ प्राप्त नभएमा पार्टीको विधानबमोजिम अनुशासनको कारवाही हुने चेतावनी उल्लेख गरेका थिए । तर विवादलाई चर्काउनुभन्दा पनि वार्ता र छलफलबाट समाधान गर्ने आफूले प्रयास गर्ने बताए । यस्तै ठाकुर पक्षका बरिष्ठ नेता राजेन्द्र महतोले अवैधानिक रुपमा सोधिएको स्पष्टीकरणको कुनै जवाफ नदिने हामीले सोधेको प्रश्नको जवाफ नआएको हुँदा पार्टीले के गर्ने भनेर छलफल गरेर निर्णय लिने वताउनु भयो ।
अध्यक्ष यादवले सोधेको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिएमा पार्टीको विधान अनुसार कारवाही गर्ने उल्लेख गरिए पनि अध्यक्ष ठाकुरले सोधेको स्पष्टीकरणमा तीन दिनभित्र जवाफ नआए के गर्ने भनेर केही उल्लेख गरेका छैनन् ।