काठमाडौं, १० असार । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवक पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–१४ घर भई काठमाडौंको दक्षिणकाली बस्ने २९ वर्षीय बस सहचालक सुरेश तिमल्सिना पक्राउ परेका हुन् ।
सुब्बाको हत्या अभियोगमा पक्राउ परेका तिमल्सिनालाई बिहीबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।
हत्यारा तिमल्सिनाले सुरुमा बलात्कार प्रयास गरेको र सुब्बाले प्रतिकार गरेपछि हत्या गरेको स्वीकार गरेका छन् । उनले सुरुमा घाँटी थिचेर ज्यान लिएको र पछि कसैले नचिनोस् भनेर अनुहार क्षतविक्षत हुने गरी प्रहार गरेको एक प्रहरी अधिकारीले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा सुब्बाले आफूलाई खाना र बासको समस्या भएको बताएपछि अभियुक्त तिमल्सिनाले आफूले काम गर्ने गाडीमा व्यवस्था गरिदिने भन्दै घटनास्थलतर्फ लगेका थिए । तिमल्सिनाले त्यहीँ जबरजस्ती करणी गर्न खोजेपछि सुब्बाले प्रतिकार गर्दा तिमल्सिनाले घाँटी अँठ्याएर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि शव नचिनियोस् भनी तिमल्सिनाले पटक–पटक अनुहारमा प्रहार गरी विभत्स बनाएको महानगरीय अपराध महाशाखाले जनाएको छ । दक्षिणकालीको पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा बुधबार विभत्स अवस्थामा सुब्बाको शव फेला परेको थियो ।
लास बरामद भएलगतै प्रहरीले तालिमप्राप्त विशेषज्ञ कुकुरको पनि परिचालन गरेको थियो । घटनालगत्तै मृतक सुब्बाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक जाँच गरि अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।