
मेचीनगर, १ फागुन । मेचीनगर साविक धाइनस्थित कालिका सामुदायिक बन उपभोक्ता समिति निर्वाचनमा होमिएको छ । शुक्रबार ४ वटा राजनैतिक दलहरुको संघीय गणतान्त्रिक मोर्चाले कार्यसमितिमा प्यानलनै खडा गरेर निर्वाचनमा होमिएको हो ।
नेकपा माओवादी, नेकपा एस, जसपा र संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको गठबन्धनले अध्यक्ष पदमा योगेश भट्टराई अघि बढाएको छ । त्यसैगरी उपाध्यक्षमा गंगादेवी सिमखडा, सचिवमा निर्मला गुरुङ, सह–सचिवमा विनोद मेचे र कोषाध्यक्षमा साउना मेचे बादलले उम्मेदवारी मनोनयन गरेका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा दुर्गा प्रसाद थेवे, विनोद राई, डम्बरहाङ जवेगु, भोला चौधरी, यशोदा गौतम, देवीमाया बर्देवा, लोकबहादुर मेचे, निर्मला पाठक, दिपा चौधरी र पदम लामिछानेले दर्ता गरेको मञ्चका प्रदेश समन्वय समिति सचिव नन्दु मेन्याङबोले लिम्बुवान खबरलाई जनाएका छन् । मोर्चाले चुनावमा राम्रो परिणाम ल्याउने नेता मेन्याङबोले बताएका छन् ।
साविक धाइजन ५, ६, ३, २ र १ का उपभोक्ताहरु सामुदायिक बनमा आबद्ध रहेका छन् । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि एउटै चुनावी प्यानल बनाएर अघि बढेको स्रोतले जनाएको छ ।