
दमक, १ जेष्ठ । गत २०७४ को स्थानीय चुनावमा राष्ट्रिय जनमुक्ति पार्टीले जितेको इलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ मा पुनः गठबन्धनका तर्फबाट राष्ट्रिय जनमुक्ति पार्टीको प्यानल नै विजयी भएको छ । निवर्तमान वडाध्यक्ष नरेन्द्र कुमार राई पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
माङसेबुङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम जनमुक्तिका उम्मेद्वार राई ६ सय ९ मतान्तरका साथ विजयी भएका हुन् । अन्य सबै पदहरुमा जनमुक्तिको प्यानल नै विजयी भएको छन् ।
जम्मा मतदाता संख्या २०१९ मत रहेकोमा १२३३ मत खसेको थियो । वडाध्यक्षमा राईको प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सुबदल सेलिङले २२८ मत प्राप्त गरेका थिए ।
यसैगरी महिला सदस्यमा तिलरुपा सबेहाङ, दलित महिला सदस्यमा गंगामाया विश्वकर्मा, खुल्ला सदस्यहरुमा वीरबहादुर कुरुम्बाङ र सुरेन्द्र तुम्बाहाम्फे विजयी भएका छन् ।