
काठमाडौं, ४ भदौं । नेकपा माओवादी केन्द्रले आठौँ महाधिवेशन भएको ८ महिनापछि पदाधिकारी टुङ्गो लगाएको छ । शनिवार सम्पन्न स्थायी समिति बैठकले पदाधिकारी टुङ्गो लगाएको हो ।
आफूलाई सबैभन्दा समावेशी पार्टीको रूपमा दाबी गर्दै आएको माओवादीले समानुपातिक समावेशी प्रतिनिधित्व सहितको पार्टीको रूपमा स्थापित भनिएपनि पदाधिकारीमा भने असमावेशी बनेको छ ।
माओवादीले बनाएको २१ सदस्यीय पदाधिकारीमा १ जना मात्र महिला नेतृले स्थान पाएका छन् । महिला नेत्री पम्फा भूसालले उपमहासचिवको जिम्मेवारी पाएकी छन् ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, उपाध्यक्ष कृष्णबहादुर महरा रहेका छन् भने देव गुरुङ महासचिव बनेका छन् ।
त्यसैगरी वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र हरिबोल गजुरेलले उपमहासचिवको जिम्मेवारी पाए ।
दीनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्कीले सचिवको जिम्मेवारी पाउँदा श्रीराम ढकालले कोषाध्यक्षको जिम्मेवारी पाए ।
माओवादीले पम्फा भुसाललाई उपमहासचिव बनाएर नेतृत्व तहमा महिलाको प्रतिनिधित्व गराउने प्रयास गरे पनि पदाधिकारीमा दलित समूदायका एक जना पनि परेनन् ।
माओवादीमा महिला र दलित समुदायको नेतृत्व नभएका होइनन् । तर, पदाधिकारी चयन गर्दा माओवादीले महिला र दलितको प्रतिनिधित्वको सवालमा कन्जुस्याइँ गरेर वर्तमान व्यवस्थाकै उपहास गरेको आलोचना हुन थालेको छ । (दृष्टि अनलाइनबाट)