मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

 लिम्बुवान न्युज
                       

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना गरे । म स्वयं पनि त्यस कार्यक्रममा सहभागी थिएँ । यो अभियान कुनै सामान्य हरियाली फैलाउने कार्यक्रम मात्र थिएन; यो एक गहिरो सांस्कृतिक, आध्यात्मिक र राजनीतिक प्रतिरोध थियो ।

सामुहिक वृक्षारोपणलाई राज्यले प्रोत्साहन गर्ने गरी अनेक कार्यक्रम बनाउने गरेको छ l यस्तो संस्कृति निर्माण गर्न विश्वभरीका राज्यहरुले लगानी समेत गर्ने नीति लिएको छ l यस्तै बखत मुक्कुमलुङका निम्ति संघर्षरत पक्षले वृक्षारोपण गर्ने कार्यक्रम तय गर्यो l यस अघि १ बर्ष अगाडी पनि वृक्षारोपण गरेको थियो l तर दुवै पटक राज्यले अवरोध गर्यो l जसले देखाउँछ कि राज्य स्वयं आफ्नो वन तथा वातावरण संरक्षण नीतिसँग असंगत दिशामा उभिएको छ । तर वृक्षारोपण गर्नुपर्ने सांस्कृतिकमै हुर्केको मुक्कुमलुङ वा पाथिभारा प्रति आस्थावानहरु जतिसुकै अवरोध एवं कठिनाइको सामना गर्नुपरे पनि वृक्षारोपण कार्यक्रम सफल बनाएका छन् ।

वृक्षारोपण गर्न फेदेन हुँदै मुक्कुमलुङतर्फ जाँदै गर्दा एक अप्रत्याशित घटना घट्यो -हेवा खोलाको पुल अचानक ढल्यो । घाइतेहरूको उद्दार गरी अस्पताल पुर्यायौं । बाटो बन्द भएकोले अन्योलता देखियो तर भोलिपल्ट बाटो खुलेपछि हामी फुङलिङ्गतिर हुइकियौँ । किनभने यो पहिचानको सवाल मात्र थिएन, आस्थाको एवं बिश्वासको सवाल पनि थियो l यो अभियान त्यस्ता मानिसहरूको पहल थियो, जसको आस्था मुक्कुमलुङमा गहिरो रूपमा गाँसिएको छ। उनीहरूका लागि वृक्ष रोप्नु आस्था र पहिचानको पुनःस्थापना थियो ।

वृक्ष–मानव सम्बन्ध: पूर्वीय दर्शनमा मानव सभ्यताको विकासमा वृक्षको अमूल्य योगदान छ । वन र मानवबीच अन्न्योन्याश्रित सम्बन्ध रहँदै आएकोछ । वनले हावा सफा गर्ने मानिसको फोक्सोका रूपमा चौबीसै घण्टा सेवा गरिरहन्छन् ।बरु हामी नरहेपनि वन रहनसक्छ तर वन नरहे हामी रहन सक्दैनौँ ।

अनादिकालदेखिनै बाटोछेउ, पानीपँधेरा एवं पोखरी वरपर, कुलो नहरछेउ, मठमन्दिर वरपर, सार्वजनिक जग्गालगायतका स्थानमा बोटबिरुवा रोप्ने र हुर्काउने परम्परा रहिआएको छ । साथै बाटो किनारमा चौतारो बनाई त्यसमा वर–पीपल, बेल, समीजस्ता धार्मिक महत्त्वका रुख बिरुवा रोपी हुर्काउने कार्य व्यापक रूपमा हुने गरेको प्रमाण यत्रतत्र अझै देखिन्छन् ।जब विश्व पर्यावरणीय संकटको दोहोरिने चेतावनीले थरथराइरहेको छ, तब समाधानको खोज केवल प्रविधिमा सीमित राख्नु अज्ञानताको संकेत बन्न पुग्छ । समाधान त्यहाँ छ, जहाँ हाम्रो पूर्वजको चेतना बसिरहेको थियो अर्थात प्रकृतिसँगको गहिरो सम्बन्धमा, भूमिको सम्मानमा, र जीवनको सन्तुलनमा।

वृक्ष रोप्नु यो सृष्टिको लयमा पुनः एकपटक आफूलाई समर्पण गर्नु हो । वर्तमान जलवायु संकट, पर्यावरणीय असन्तुलन र मानिस र प्रकृतिबीच बढ्दो दूरीको युगमा, पूर्वीय दर्शनहरू; जसमा वेद, मुन्धुम, बौद्ध, जैन, तथा अन्य स्थानीय–स्वदेशी ज्ञान प्रणालीहरू पर्दछन्  l यसले हामीलाई सम्झाउँछन् कि वृक्ष केवल जैविक तत्त्व होइन, जीवित चेतनाका संरक्षक हुन् । यी दर्शनहरूले प्रकृति र मानवबीच आत्मीय, पूरक, र सहजीवी सम्बन्ध देखाउँछन्।

मुन्धुम दर्शनमा:

किरात–राई, लिम्बु, याक्खा, सुनुवार आदिको मुन्धुम (धार्मिक ग्रन्थ) एक गहिरो प्रकृतिवादी दृष्टिकोण हो, जसमा सृष्टिको आरम्भ वृक्ष–पहाड–पानीबाट भएको मानिन्छ । किरात सभ्यताको आत्मिक मेरुदण्ड मुन्धुम; जो केवल धर्मग्रन्थ होइन, एक जीवित ज्ञान–संहिता हो, जसले जलवायु संकटको वृक्षारोपण समाधान बोकेर उपस्थित छ । यो दर्शनले प्रकृति र मानवको सह–अस्तित्व मात्र होइन, वृक्षलाई पूर्वजको आत्मा, जीवनको आधार, र सामूहिक सम्बन्धको जरा मानेर उच्चतम सम्मान दिएको छ।

वृक्षारोपणको कुरा गर्दा, मुन्धुमीय जीवनदर्शनले यो क्रियालाई केवल पर्यावरणीय कर्मको रूपमा होइन, एक पवित्र सांस्कृतिक र आत्मिक दायित्वको रूपमा प्रस्तुत गर्छ । मुन्धुमीय दर्शन अनुसार संसारको उत्पत्ति कुनै ठोस भौतिक पदार्थबाट होइन, एक प्रकारको अराजक, तर चेतन शक्तिबाट भएको हो, जस्तै: थेक्थाप, याक्थाप वा तगेरा निंग्वाफुमा । यस चेतनाले क्रमशः जल, हावा, माटो, र त्यसपछि वनस्पति जन्मायो।

थुङ्वा मुन्धुममा भनिन्छ: पहिलो पहाडहरू उठे, तिनबाट जल बगे, जलको स्पर्शबाट जीवनको अङ्कुर फुट्यो । यस वर्णन अनुसार, जीवनको मूल वा पहिलो सन्तान वृक्ष प्रकृति हो, जसबाट अन्य प्राणीहरू जन्मे। त्यसैले वृक्ष कुनै पदार्थ मात्र नभई, सृष्टिको आदिम प्राण हो। मुन्धुमीय विश्वदृष्टिमा, आत्मा अमर छ र शरीर मरेपछि पनि अस्तित्वमा रहन्छ। यो आत्मा पृथ्वीका विभिन्न तत्त्वहरूसँग प्रायः वृक्ष, ढुङ्गा, जल, वा पहाडमा एकाकार हुन्छ।

सक्कार मुन्धुममा भनिएको छःमरेको आत्मा कहिले काँही पीपल बन्छ, कहिले सल्लो, कहिले हावा—तर अस्तित्वमा रहन्छ । यस आधारमा वृक्षहरू पूर्वजको बासस्थान हुन्। त्यसैले वृक्ष रोप्नु भनेको केवल हरियाली फैलाउनु होइन, आफ्ना मृत पूर्वजहरूको आत्मा पुनः बासस्थान दिने कार्य हो। र वृक्ष काट्नु भनेको ती आत्मामाथि आघात गर्नु हो। परम्परागत किरात घर वरिपरि विशेष वृक्षहरू रोपिन्छन्—जसलाई शिमङ्गा भनिन्छ। यो वृक्ष घरको रक्षक, कुलको आत्मा, र देवी–देवताको वासस्थान मानिन्छ । वृक्षविनाको घर मृत आत्माहरूको थलो मानिन्छ ।

अझ मुक्कुमलुङ लगायतका पवित्र स्थलहरूमा वृक्षारोपणको सन्दर्भ मुन्धुम दर्शनमा अत्यन्तै गहिरो, पवित्र र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिन्छ । किरात लिम्बु समुदायको मुन्धुम अनुसार, मुक्कुमलुङ केवल एक भौगोलिक स्थान होइन, यो सृष्टि, आत्मा, र पूर्वजहरूको चेतनाको केन्द्र हो । यहाँ वृक्षहरूको अस्तित्व र रोपणसँग धार्मिक, सामाजिक, र आत्मिक चेतनाको पुनर्स्थापना गाँसिएको हुन्छ । यस स्थललाई किरात मुन्धुममा ज्ञान, पूजा, सृष्टि र आत्मिक शिक्षाको थलो मानिन्छ । मुन्धुम अनुसार, यही ठाउँमा सृष्टिका पहिलो मानवहरूलाई प्रकृतिका नियम सिकाइएको थियो । मानविय ज्ञान एवं कला सिकाइएको थियो l

मुन्धुमीय कथाहरू अनुसार, मुक्कुमलुङ क्षेत्रमा वृक्षहरू केवल वनस्पति थिएनन्, तिनीहरूमा पूर्वजहरूको आत्मा वास गर्थ्यो। विशेष त्यहाँदेव वृक्ष/फुङ्माबुङ वा आत्मा वासस्थान वृक्षहरू (जस्तै साल: कुल आत्माको प्रतीक, पिपल: रक्षा गर्ने वृक्ष, सल्लो, सिंसारे/सिमल: स्त्री आत्माको स्वरूप, लालीगुराँस: देव पुष्प, असारे, तामाको झार / तिमुर, बर: देव वृक्ष) लाई सामाजिक ज्ञानका संरक्षकका रूपमा हेर्ने गरिन्थ्यो। वृक्ष काट्नु आत्मा काट्नु सरह हो, र वृक्ष रोप्नु आफ्नो कुल आत्माको घर पुनः बनाउनु हो भन्ने मान्यता छ l

मुक्कुमलुङ क्षेत्रका लागि वृक्ष चयन गर्दा केवल वातावरणीय होइन, मुन्धुमीय आध्यात्मिकता, सांस्कृतिक स्मृति समेतलाई ध्यान दिनुपर्ने रहेछ । वृक्षारोपण पनि निश्चित बिधि सहित किरात पंचाङ्ग अनुसार पूजा थलो, मूल ढुङ्गा (माङहिम) वरिपरि, बाटो छेउ, डाँडाको पाखामा गर्न निर्दिष्ट गरिएको छ l मुन्धुम अनुसार लिपा प्रणाली (सामुहिक कार्य) मा सबै भन्दा उत्तम कर्म वृक्षारोपण हो l त्यसैले मुक्कुमलुङमा वृक्षारोपण गर्नु भनेको कुनै सामाजिक सेवा मात्र होइन, आध्यात्मिक उत्तरदायित्व हो । यसैकारण यो सवाल आस्थाको सवाल भयो जुन पहिचानसंग जोडिन पुग्यो र पहिचानसंग जोडिएकै कारण राज्यवृक्षारोपण प्रति असहिष्णु हुन् गयो l

बौद्ध, जैन र ताओ दर्शन:

बौद्ध दर्शनमा वृक्षको सबैभन्दा महान प्रतीक बोधिवृक्ष हो-जसको छायाँमा सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरे र बुद्ध बने। यसले वृक्षलाई केवल वातावरणीय घटक नभएर ज्ञान, बोध, मुक्तिको मूल स्रोतको रूपमा प्रस्तुत गर्दछ। बुद्धले स्वयं भन्नुभएको छ कि एक वृक्ष तिमीलाई जति छायाँ दिन्छ, त्यति नै ध्यान पनि दिन्छ । बौद्ध परम्परामा वृक्षारोपण गर्नु भनेको “भूत–वर्तमान–भविष्य” को सन्तुलन निर्माण गर्नु हो । नेपाल, तिब्बत, थाइल्याण्ड, श्रीलंका आदि देशमा आज पनि वृक्ष लगाउने कार्यलाई ‘सार्वजनिक ध्यान’ मानिन्छ।

जैन धर्म अहिंसाको चरम प्रतिमूर्ति हो। जैनहरूका लागि वृक्ष आत्मायुक्त प्राणी हुन् । वृक्ष काट्नु हत्या हो, वृक्ष रोप्नु उद्धार हो । एक प्रसिद्ध जैन कथामा उल्लेख छ कि जो एक पीपलको बचाउ गर्छ, ऊ सय प्राणिहरूलाई मुक्ति दिन्छ । ताओवादी दर्शन (लाओ त्से, “ताओ ते चिङ”) मा वृक्षलाई विनम्रता, सहनशीलता, धैर्य र दीर्घजीवनको प्रतीक मानिन्छ। वृक्ष रोप्नु भनेको ‘ताओ’ अनुसारको जीवनपथ रोज्नु हो—जहाँ हामी प्रकृतिसँग एकाकार हुन्छौं।

हिन्दु एवं वैदिक दर्शन:

वेदहरू विशेषतः ऋग्वेद, अथर्ववेद प्रकृति र मानवबीचको सम्बन्धको आधारशिला हुन्। वेदमा वृक्षहरूलाई ‘उद्भिद देवता’, ‘वनस्पतिरूपिणी माता’ र ‘पृथ्वीको आत्मा’ को रूपमा चित्रण गरिएको छ। वृक्षारोपण वेदअनुसार “पुण्यकर्म” हो, जसले ऋत-सृष्टिको शाश्वत व्यवस्थालाई कायम राख्दछ । त्यसैगरी विष्णुधर्मोत्तर पुराणका अनुसार रुख र बिरुवा रोप्दा अश्वमेध यज्ञको फल प्राप्त हुन्छ । मनुस्मृतिमा भनिएको छ, रुख र बिरुवा रोप्दा यज्ञ गर्दा जति पुण्य फल मिल्छ । भविष्य पुराणमा भनिएको छ, सन्तान नभएका दम्पतीका लागि रुख सन्तान जस्तै हो । पद्म पुराणमा लेखिएको छ, पुजा स्थल, जलाशयको नजिक पिपलको रुख रोप्दा सयौं यज्ञ गरे बराबर पुण्य प्राप्त हुन्छ।वराह पुराणमा भनिएको छ, जसले एक पिपल, नीम, बरग, दुई वटा अनार, सुन्तला, पाँच आँपको रुख र दश फूलको बोट रोप्छ ऊ नरकमा जाँदैन।मत्स्य पुराणका अनुसार एउटा कुण्ड दश पोखरी बराबर, एक पुत्र दश कुण्ड बराबर र एक रुख दश पुत्र बराबर हुन्छ ।शिव पुराणले भन्छ,जसले ध्यान स्थल, सुनसान र दुर्गम स्थानमा रूख र बिरुवा रोप्छन्, त्यस्ता व्यक्तिहरूले आफ्नो विगत र भावी पुस्तालाई तार दिन्छन्।

रुख र बोटबिरुवा नौ ग्रहसँग सम्बन्धित रहेको ज्योतिषहरु बताउँछन् । नवग्रह शान्ति र दोषबाट बच्न रुख रोप्ने विधि ज्योतिष ग्रन्थमा बताईएको छ ।जसमा सूर्यका लागि मदार, चन्द्रमाका लागि पलाश, मंगलका लागि खैर र बुधका लागि अपमार्ग अर्थात् चिरचित र गुरुका लागि पिपलको रुख रोप्नुपर्छ । साथै शुक्रका लागि गुलार, शनिका लागि शमी, राहुका लागि दुर्वा र केतुका लागि कुश लगाउने व्यवस्था शास्त्रमा उल्लेख गरिएको छ ।आषाढ महिनामा भगवान विष्णुको आराधनासँगै वृक्षारोपण गर्ने विधि पनि शास्त्रमा उल्लेख गरिएको छ । यस महिना लगाएको रुख र बिरुवाबाट दोष हटाउने मान्यता ग्रन्थमा भनिएको छ । पुराण र स्मृति ग्रन्थमा वृक्षरोपणको पुण्य धेरै रहेको छ ।

आस्थाको सत्याग्रह

रोपण मात्र होइन संरक्षण एवं काटने बिधि पनि पूर्वीय दर्शनमै उल्लेख छ l आज पनि नेपाल, भारत, बङ्गलादेश, तिब्बत, चीनमा बिशेष वृक्षहरु जस्तै पीपल, वट, बेल, साल आदिलाई देवी–देवताको रूपमा पूजा गरिन्छ । यसको कारण, वृक्ष काट्न सहज हुँदैन; यसले संरक्षणको आधार बनाउँछ । मुन्धुममा यी वृक्षहरू काट्दा विशेष अनुमति, पूजा, वा साटो दिनुपर्छ। किरात जीवनदर्शनमा न्याय भन्नाले सामाजिक वा कानुनी हिसाब मात्र होइन, प्रकृतिसँगको सन्तुलनको पुनःस्थापना हो । जब समाजमा बाढी आउँछ, खडेरी बढ्छ, या रोग फैलन्छ, तब पुराना मुन्धुमी पुजारीहरू भन्छन्: वृक्षहरू रुदैछ, रूखहरू रोप्नु, सेवा गर्नु नीतिमा छन् । जब नीति हराउँछ, रूख रून्छ । यसैले वृक्षारोपण एक प्रकारको प्रायश्चित पनि हो l मुक्कुमलुङ परिसरमा केवलकार बनाउने बहानामा ५० हजारभन्दा बढी रुखहरु काटियो जसलाई मुन्धुम अनुसार अशुभ मानिएर क्षमा पुजा तथा वृक्षारोपण कार्यक्रमहरु गरिएको हो ।

आज मुक्कुमलुङ जस्तो पवित्र स्थलका वृक्षहरू भूमाफियाको सम्पत्ति बनेको, डोजरले पुर्खाको आत्मा उखेलेको, आरीले पुर्खाको आत्मा चिरेको दृश्य मुन्धुम प्रति आस्थावानहरुका निम्ति सह्य हुन् सकेन । त्यसैले यो वृक्षारोपण एक सत्याग्रह हुन् गयो l पाथिभारा भनेर चिन्नेहरू पनि यो डाडो हराभारा भएर पाथी जस्तै देखिएर पाथीभरा भनेका हुन् l तसर्थ पाथिभारा मान्नेहरु पनि पुजा दर्शन गर्न जाँदासंगै एउटा रुख रोप्दा मुक्कुमलुङ प्रतिको सम्मान एवं पाथिभारा प्रतिको बिश्वास गहिरिने निश्चित हो l वातावरणीय संकट, जैविक विविधताको नाश र भूमिसँगको विच्छेद आधुनिकता तथा कम्युनिज्म, पुँजीवादको परिणाम हो । तर मुन्धुमीय चेतना अझै पनि जीवित छ l वृक्षलाई कुलको हिस्सा मानिन्छ, बृद्धबृद्धाले मरेपछि आफ्ना नाममा वृक्ष रोपिदिन अनुरोध गर्छन् । अब आवश्यक छ कि यो चेतनालाई शिक्षा, नीति र सामाजिक आन्दोलनमा पुनर्स्थापित गर्न । तर यसको निम्ति सभ्यतालाइ आत्मसात गरेको पहिचानमा आधारित राज्य चाहिन्छ l

वृक्षारोपण केवल वातावरण संरक्षणको उपाय होइन, यो सांस्कृतिक उत्तरजीवन, आत्मिक शुद्धता र भावी सभ्यता निर्माणको पहिलो पाइला हो । हामीले वर्तमान संकटको समाधान “आधुनिक प्रविधि” मा मात्र होइन, पूर्वीय चेतनाको पुनराविष्कारमा खोज्नुपर्छ। वृक्षारोपण तिनै चेतनाहरूको मूर्त प्रतिविम्ब हो; जहाँ आत्मा, प्रकृति र समाज एकाकार हुन्छन् । नो केवलकार पक्षधरले यहिँ गर्ने प्रयास गरेको हो तर उपरोक्त मान्यता कम्युनिष्ट एवं उदारवादमा आधारित राज्यलाई पचेन त्यहिँ भएर वृक्षारोपणमा हिडेकाहरुका निम्ति संकटकाल झैँ आफु बिरुद्ध युद्ध लडन आएको सिपाही सरह ब्यबहार गरियो l वृक्षारोपण कार्यक्रमलाई राज्यद्वारा अवरोध गर्नु केवल एक कानुनी कदम थिएन; यो आस्था र पहिचानमाथिको असहिष्णु आक्रमण थियो । त्यही कारण यो वृक्षारोपण एक सत्याग्रह बन्न पुग्यो l आध्यात्मिक एवं पहिचानको सत्याग्रह; जहाँ हातमा हतियार होइन, बीउ बिरुवा थियो अनि नम्र प्रतिज्ञा थियो ।

अन्त्यमा,

आज जलवायु परिवर्तन, ग्लोबल वार्मिङ, मरुभूमिकरण र बाढी–सुख्खाको प्रमुख कारण वृक्ष कटानी हो । तर, आधुनिक “वृक्षारोपण अभियान” मात्र भौतिक रूपमा सीमित छ, जस्तै वृक्ष काट, वृक्ष रोप शैलीमा । आज जलवायु संकट, जैविक विविधताको क्षय, भूमिसँगको विच्छेद आधुनिकतावादी विकास दृष्टिकोणको परिणाम हो । यसको समाधान केवल प्रविधिमा होइन, चेतनामा छ। पूर्वीय दर्शनहरूले देखाउँछन् – वृक्ष रोप्नु भनेको सृष्टिसँगको सन्तुलन पुनर्स्थापना गर्नु हो ।

आज मुक्कुमलुङ, जहाँ मुन्धुमको वाणी बोलिन्छ, जहाँ आत्मा र प्रकृतिबीचको सम्बन्ध गहिराइमा बाँधिएको छ, त्यही ठाउँमा वृक्षहरू काटिएका छन् । मुक्कुमलुङ परिसरमा वृक्ष काट्नु मुन्धुमको विरुद्धमा जाने कर्म हो, वृक्ष रोप्नु भनेको मुन्धुमको रक्षा गर्नु हो । यस्तो अवस्थामा वृक्षारोपण आफैंमा सत्याग्रह हो l मुक्कुमलुङ परिसरमा वृक्षारोपण केवल वातावरणीय कर्म थिएन, यो सांस्कृतिक उत्तरजीवन, आत्मिक शुद्धि र सभ्यता निर्माणको बीजारोपण थियो । यो मुन्धुमीय चेतनाको पुनरागमन थियो – जहाँ वृक्ष आत्मा हुन्, आस्था हुन् र प्रतिरोधका प्रतीक हुन्।

लेखक: राष्ट्रिय मुक्ति पार्टीका नेता हुन्

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...