दमक, २२ साउन । झापाकाे दमक र कमलबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक मेडिकल डिस्ट्रीब्युटरका सञ्चालक गंगाबहादुर खड्का र कमल गाउँपालिका–६ का विष्णुप्रसाद बगाले रहेका छन् ।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले बुधबार राति करिब ११ बजे बगालेको घरमा छापा मारेर ठूलो मात्रामा गैरकानुनी औषधि बरामद गरेको हो ।
प्रहरीका अनुसार खान तलासीका क्रममा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ३ हजार थान, डिसाइक्लोमिन हाइड्रोक्लोराइड ट्याब्लेट २ हजार १ सय १० थान र स्पास्पेन ट्याब्लेट २ हजार ५० थान फेला परेको छ ।
यी औषधि नेपालमा प्रतिबन्धित छन् । बरामद औषधिसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।