दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको हो । यो सँगै चुलाचुली जिल्लामै पहिलो भूमि प्रशासन सेवा गर्ने पालिका बनेको छ ।
पालिकाका अध्यक्ष राजेन्द्र केरुङले भूमि प्रशासन तथा नापी प्रशासन शाखाको उद्घाटन गर्दै सेवा शुभारम्भ गरेका थिए । सेवा शुभारम्भसँगै उनले भूमि प्रशासनतर्फका पहिलो सेवाग्राही चुलाचुली–३ का सुरेश थुलुङलाई जग्गाधनी पुर्जा र नापीतर्फका पहिलो सेवाग्राही चुलाचुली–६ का चिरञ्जिवी घिमिरेलाई जग्गाको नक्सा हस्तान्तरण गरे थिए ।
सेवा शुभारम्भपछि अध्यक्ष केरुङले अब चुलाचुलीका नागरिकले सामान्य भूमिसम्बन्धी कामका लागि इलाम सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा नागरिकको समय, खर्च र झन्झट घट्नुका साथै सेवा प्रवाह थप सहज र प्रभावकारी हुने उनको भनाइ छ ।
‘आज हाम्रा अग्रजहरूको सपना साकार भएको दिन हो । विगतमा भूमिसम्बन्धी कामका लागि दमक–बिर्तामोड हुँदै एक दिन लगाएर इलाम सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘गाउँबाटै सेवा लिन पाउने भएपछि अबको पुस्ताका लागि धेरै सहज भएको छ ।’
गाउँपालिका उपाध्यक्ष दिलकुमारी लिम्बू (योङहाङ)ले स्थानीय नागरिकको आवश्यकता र मागलाई सम्बोधन गर्न पालिकाबाटै भूमि प्रशासन सेवा सुरु गरिएको बताइन् । सबै राजनीतिक दल तथा स्थानीयवासीको सहयोग र सहकार्यबाट सेवा सञ्चालन गर्ने वातावरण बनेको उनको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यका अनुसार गाउँपालिकाले आवश्यक जनशक्ति र पूर्वाधारको व्यवस्थापन गरी भूमि व्यवस्थापन शाखा स्थापना गरेर सेवा सञ्चालनमा ल्याएको हो । भूमि प्रशासन अधिकृत (छैटौँ)को नेतृत्वमा तीन जना, नापी अधिकृत (सातौँ)को नेतृत्वमा तीन जना र भूसेवा शाखामा एक जना गरी सुरुमा सात जना कर्मचारी परिचालन गरिएको उनले जानकारी दिए ।
‘कार्यालय सहयोगीबाहेक जम्मा नौ जनाको दरबन्दी हो । अहिले सुरुआती चरणमा सात जना कर्मचारीबाट सेवा सुरु गरेका छौँ,’ उनले भने, ‘जिल्लास्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट हुने काम अब यहाँबाटै हुने व्यवस्था गरिएको छ ।’
गाउँपालिकाबाट प्रदान हुने सेवामा व्यक्तिबीच हुने जग्गा कारोबारसम्बन्धी लिखतअन्तर्गत राजीनामा, हकहिस्सा राजीनामा, दर्ताफारी, संगोलनामा, हकछोडपत्र, दानपत्र, हालैदेखिको बकसपत्र, शेषपछिको बकसपत्र, जग्गासहितको अष्टलोह तथा सट्टापट्टालगायतका काम रहेका छन् ।
त्यस्तै अंशवण्डा तथा अंश भरपाई, गैरजग्गा कारोबारसम्बन्धी लिखत, घरजग्गाको स्वामित्व हस्तान्तरण, जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँड, अपुताली (नामसारी), प्रतिलिपि जारी, विवरण संशोधन तथा अद्यावधिक, लगत कट्टा, नापी तथा राजस्व असुली र बाँडफाँडसम्बन्धी सेवा पनि पालिकाबाटै उपलब्ध हुने जनाइएको छ ।
स्थानीय तहमै सेवा सुरु भएपछि सेवाग्राहीसमेत उत्साहित भएका छन् । पहिलो सेवाग्राही थुलुङले विगतमा सामान्य कामका लागि पनि इलाम सदरमुकाम पुगेर तीन दिनसम्म बस्नुपर्ने अवस्था रहेको बताए ।
‘सानो कामका लागि पनि सदरमुकाम पुग्नुपथ्र्यो । कहिलेकाहीँ एकैदिन काम नहुने भएकाले तीन दिनसम्म होटलमा बस्नुपथ्र्यो,’ उनले भने, ‘अब त्यो बाध्यता हटेको छ । यसका लागि सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु ।’
नक्सा प्राप्त गर्ने दोस्रो सेवाग्राही घिमिरेले विगतमा तीन दिन लाग्ने काम अहिले गाउँमै केही समयमै सम्पन्न भएको भन्दै खुसी व्यक्त गरे । ‘इलाम सदरमुकाम जान एक दिन, काम गर्न एक दिन र फर्किन एक दिन गरी तीन दिन लाग्थ्यो,’ उनले भने, ‘अहिले बिहान खाना खाएर आएर पनि केही समयमै काम सम्पन्न भयो ।’
मालपोत ऐन, २०३४ संशोधन गरी रजिष्ट्रेशनसम्बन्धी काम स्थानीय तहको भूमि व्यवस्थापन शाखाबाट गर्न सकिने व्यवस्था गरिएको छ । ऐनको दफा ८(ग) मा तोकिएबमोजिम लिखत रजिष्ट्रेशन, नामसारी, दाखिल खारेज, लगत कट्टा, रोक्का तथा फुकुवासम्बन्धी काम सम्बन्धित स्थानीय तहको भूमि व्यवस्थापन शाखाले गर्न सक्ने व्यवस्था छ ।
सोही कानुनी व्यवस्थाअनुसार गाउँपालिकामा भूमि व्यवस्थापन शाखा स्थापना गरी सेवा सञ्चालनमा ल्याइएको भूमि प्रशासन अधिकृत उत्सव कट्टेलले बताए । ‘संविधान र कानुनले दिएको अधिकार प्रयोग गर्दै भूमि प्रशासनसम्बन्धी सेवा आधिकारिक रूपमा गाउँपालिकाबाट सुरु गरिएको हो,’ उनले भने ।
चुलाचुलीमा स्थानीय स्तरमै भूमि प्रशासन तथा नापी सेवा सुरु भएपछि सेवाग्राहीको पहुँच सहज हुने, प्रशासनिक प्रक्रिया छोटिने तथा सेवा लिन लाग्ने समय र लागत घट्ने अपेक्षा गरिएको छ । यससँगै जिल्लाको सदरमुकाम केन्द्रित सेवा प्रणालीलाई स्थानीय तहसम्म विस्तार गर्ने प्रयासले समेत थप गति लिने देखिएको छ ।