माङसेबुङ ६ का प्रदिप साङ्पाङको वडाअध्यक्ष पद रिक्त

 लिम्बुवान न्युज
                       

इलाम। इलामको माङसेबुङ् गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदीप साङपाङको पद पार्टी परिवर्तन गरेका कारण रिक्त रहेको छ ।

आफू निर्वाचित भएको तत्कालिन नेपाली कांग्रेस परित्याग गरी तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रवेश गरेका साङपाङको पद रिक्त भएको निर्वाचन आयोग नेपालले पुष्टि गरेको हो ।

आयोगको गत ७ माघको बैठकको निर्णयअनुसार भन्दै ९ माघमा गोरखापत्रमा ‘दल त्याग तथा रिक्त सम्बन्धी सूचना’ प्रकाशित गरि सोही दिनदेखि साङपाङ निर्वचित भएको पद स्वतः रिक्त भएको आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ बमोजिम दल त्याग गरेको व्यहोरा नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्णयसहित आयोगलाई जानकारी आएकाले साङपाङको पद रिक्त भएको सूचनामा उल्लेख छ । सो सूचनामा साङपाङसहित सिरहा औरही गाउँपालिका २ का दलित महिला सदस्य भालसैरदेवी सदा, सोही गाउँपालिकाका कार्यपालिका सदस्य रामप्रताप राम र सुनसरीको इनरुवा नगरपालिका २ का वडा सदस्य लक्ष्मी मेहताको पद समेत रिक्त भएको उल्लेख छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा साङपाङले तत्कालिन नेपाली कांग्रेसबाट अत्याधिक मतका साथ वडा अध्यक्षमा विजयी भएका थिए । साङपाङले पूर्व बाँझो गाउँ विकास समितिका अध्यक्ष समेत रहेका तत्कालिन नेकपा एमालेका उम्मेद्वार किरण राईलाई पराजित गर्दै वडाअध्यक्षमा विजयी बनेका थिए । वडाका ४ जना सदस्य नेकपा एमालेबाट निर्वाचित हुँदा उनी एक्लै कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचत भएका थिए । तर साङपाङ २१ चैत २०७४ मा माङसेबुङ गाउँपालिका ३ चतुरेमा आयोजित कार्यक्रममा तत्कालिन नेकपा एमालेमा प्रवेश गरेका थिए ।

जिल्ला निर्वाचन कार्यालयलाई पद रिक्त भएको पत्र

यसैबीच निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय इलामलाई माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्षको पद रिक्त भएको जानकारी पत्र पठाएको छ । निर्वाचन आयोगबाट माङसेबुङ गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्षको पद रिक्त भएको जानकारी पत्र कार्यालयलाई प्राप्त भएको जिल्ला निर्वाचन कार्यालय इलामका सुचना अधिकारी कृष्ण लिम्बूले पुष्टि गरे ।

यस्तो छ, राजनीतिक दल सम्बन्धी ऐन र नियमावलीमा व्यवस्था

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ मा दल त्याग गर्न नहुने सम्बन्धी व्यवस्थाको उपदफा (१) मा ‘दफा ३० मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै दलको तर्फबाट उम्मेदवार भई निर्वाचित भएको सङ्घीय संसदको सदस्य, प्रदेश सभाको सदस्य वा स्थानीय तहको सदस्यले त्यस्तो पदको पदावधि कायम रहेसम्म जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो त्यस्तो दल त्याग गर्न सक्ने छैन’ भन्ने उल्लेख छ । सोही दफाको (२) मा ‘उपदफा (१) प्रतिकूल हुने गरी कुनै सदस्यले दल त्याग गरेमा निज निर्वाचित भएको पद निजले दल त्यागेको मितिदेखि स्वतः रिक्त भएको मानिनेछ’ उल्लेख छ ।

त्यस्तै दफा ३२ मा दल त्याग गरेको मानिने व्यवस्थाको उपदफा (१) मा (क) निजले सम्बन्धित दलको सदस्यबाट लिखित रुपमा राजिनामा दिएमा, (ख) निजले अर्को दलको सदस्यता लिएमा, वा (ग) निज आफैले वा निज समेत संलग्न भई अर्को दल गठन गरेमा सदस्यले दल त्याग गरेको मानिनेछ भन्ने व्यवस्था उल्लेख छ ।

त्यस्तै राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को दफा २२ मा दल त्याग गरेको जानकारी गराउनु पर्ने व्यवस्थाको उपदफा (१) मा ‘कुनै दलको तर्फबाट स्थानीय तहको कुनै पदमा उम्मेदवार भई निर्वाचित भएको सदस्यले ऐनको दफा ३२ को उपदफा (१) बमोजिम दल त्याग हुने कार्य गरेमा सो दलको केन्द्रीय समितिले निर्णय गरी निजले दल त्याग गरेको व्यहोराको जानकारी आयोगलाई गराउनु पर्नेछ । यसरी जानकारी गराउँदा केन्द्रीय समितिको निर्णयको प्रतिलिपि समेत पेश गर्नु पर्नेछ’ उल्लेख छ । त्यस्तै ‘उपदफा (२) उपनियम (२) बमोजिमको जानकारी प्राप्त गरे पछि पन्ध्र दिन भित्र आयोगले राष्ट्रियस्तरको दैनिक पत्रिकामा सोको सूचना प्रकाशन गर्नेछ र उपदफा (३) उपनियम (२) बमोजिमको सूचना प्रकाशन भए पछि स्थानीय तहको त्यस्तो सदस्यको पद स्वतः रिक्त भएको मानिनेछ’ उल्लेख छ ।

गोरखापत्र दैनिकमा प्रकाशित सूचना

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...