इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने

 लिम्बुवान न्युज
                       

इलाम, २ माघ । इलामको फाल्गुनन्द–सुकिलम्बा विमानस्थलबाट उडान सुरुहुने भएको छ । यहि ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र तारा एयरलाइन्स बीच सम्झौता भएको हो ।

नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फी भाडा आठ हजार ७०० कायम गरिएको छ ।

त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थल सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

नगरपालिका र तारा एयरलाइन्सका बिचमा भएको सम्झौता १२ उडान अर्थात् तीन महिनाको लागि भएको हो । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सञ्चालन र यहाँबाट हवाई यात्रा गर्ने बानीको विकासको लागि नगरपालिकाले एयरलाइन्ससँग सम्झौता गरेको इलाम नगरपालिकाका प्रमुख बस्नेत बताउँछन् ।

तीन महिनासम्म नियमित उडानमा यात्रुको चाप पुगे उडान दिगो हुने उनको भनाई छ । ‘तीन महिनाको ट्रायल फ्लाइट चल्यो भने नियमित रूपमा चल्छ, नभए चल्दैन भन्ने एयरलाइन्स कम्पनीका साथीहरूको कनक्लुजन छ’, बस्नेतले भने, ‘यो विमानस्थल जनस्तरबाटै सुरु भएको हो । जुन अपेक्षाबाट पैसा हालिएको थियो त्यो अपेक्षा पुरा होस भन्ने हामी चाहन्छौ ।’

इलामबाट नियमित उडानको लागि नगरपालिकाले हवाई उडानको लागि सहुलियत दिने भएको छ । हवाई यात्राको एकतर्फी टिकट गर्दा नगरपालिकाले ‘टु वे टिकट’को व्यवस्था गरिदिने भएको हो । यस्तो सहुलियत इलाम नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बेपारी र खेलाडीले प्राप्त गर्नेछन् ।

विमानस्थलबाट नियमित उडान भएमा इलामको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुनेछ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण पुरा भएको पाँच महिना वित्दा पनि उडान सुरु भएको थिएन । विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पुरा भएको हो । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पुरा भएको हो ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...