मण्डलामा ‘मुक्कुम्लुङ’ नाटक मञ्चन हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ पाैष । मण्डला थिएटरमा माघ ४ देखि २७ गतेसम्म नाटक ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने भएको छ । युवा निर्देशक अनिल सुब्बाले निर्देशन गरेको नाटक मञ्चनको आधिकारिक घोषणा मण्डला थिएटर नेपाल, चुलाचुली रंगमञ्च र एक थिएटर नेपालले एकसाथ गरेका छन् ।
मुन्धुमअनुसार पृथ्वीकै पहिलो नारी मुजिङना खेयङनाको मुन्धुममा आधारित रहेर निर्माण गरिएको नाटकमा पछिल्लो समय मुक्कुम्लुङ संरक्षण आन्दोलनसम्मको घटना क्रमहरुलाई समेटिएको निर्माण पक्षले जनाएको छ । पछिल्लो समय ताप्लेजुङको मुक्कुम्लुङमा ‘मक्कुम्लुङ संरक्षण’ अर्थात् ‘नो केवलकार’ आन्दोलन चलिरहेको छ । मुक्कुम्लुङ याक्थुङ (लिम्बु)हरुको पवित्र स्थल रहेको र केवलकार स्थापना गरिदा मुक्कुम्लुङ र लिम्बुहरुको सम्बन्ध विस्थापन हने र त्यहाँको प्रकृतिको दोहन हुने भएकाले सरोकारवालाहरुले आन्दोलन गरिरहेका छन् ।
सोही आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै मुक्कुम्लुङको महत्व बुझाउन नाटक निर्माण गरिएको एक थिएटर नेपालका अध्यक्ष बिष्णु मोक्तानले बताए ।
पछिल्लो समय ताप्लेजुङस्थित मुक्कुम्लुङमा चलिरहेको ‘नो केवलकार’ आन्दोलनकै सन्दर्भमा नाटक ‘मक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन गर्न लागिएको चुलाचुली रंगमञ्चका अध्यक्ष चेतन आङ्थुपोले जानकारी दिए । ‘विशेषगरी मुक्कुम्लुङ साझा लिम्बुवान भूमि र लिम्बुवानीहरुको शिर हो’, आङथुपोले भने, ‘यस भूमिका रैथाने समुदाय र प्रकृति पुजक मुलवासीहरुको आस्थाप्रति राज्यको संरक्षणमा जुन किसिमको दमन र विनास भइरहेको छ, त्यसविरुद्ध कला र सिर्जनामार्फत पहिचानको पक्षमा गरिएको आन्दोलन नै हो, यो नाटक ।’
त्यसैगरी नाटकका निर्देशक अनिल सुब्बा पनि सिर्जनामार्फत आन्दोलनमा देखाइएको ऐकबद्धताको रुपमा लिन्छन्, नाटकलाई । ‘यो नाटक, नाटक मात्रै होइन । अरुले बुझेको नाटकजस्तो होइन यो । पहिचानको लागि यो नाटक आफैंमा एउटा सशक्त आन्दोलन हो’
सुब्बा भन्छन्, ‘हामीलाई सानैदेखि राजाहरुको चित्रकथा, बीरगाथा पढाइयो । हाम्रो अस्तित्वलाई जसले समाप्त पारिदिए, तिनीहरुकै बीरगाथा मात्रै पढाइयो । हामीले यसैमा गर्व मानेर आयौं । हाम्रो आफ्नो संस्कार–संस्कृतिको बारेमा कतै पढाइएन । अहिले कलाको
क्षेत्रमा आइसकेर हेर्दा आदिवासीहरुसँग सम्बन्धित कुराहरु भन्नुपर्छ, हाम्रो भाषाको कुरा, संस्कार–संस्कृतिका कुराहरु चाहिँ किन लुकाइयो त ? यि नै प्रश्नहरुको जवाफ हो यो नाटक ।’
निर्देशक सुब्बाले राज्यसँग धेरै ठूलो कुरा नमागेको बताउँछन् । उनि भन्छन्, ‘हामीले जम्माजम्मी सबै मान्छे बराबरी भएर बाँचौं भनेको न हो । अरु धेरै के मागेका छौं र ?
आदिवासीहरुसँग सम्बन्धित कुरामाथि मात्रै किन अतिक्रमण हुन्छ ? यसको प्रतिरोध हो, यो नाटक ।’
नाटकका लेखकमध्ये गीलु रातोस पनि सुब्बाकै कुरामा सहमत देखिन्छन् । ‘लेखनको हिसाबले फरक समुदायको मूल्य÷मान्यतामाथि लेख्नुपरेकोले केही समय अध्ययन गर्न लाग्यो । तर, यो हामीले लेख्नैपर्ने नाटक थियो । किनभने मुक्कुम्लुङलाई याक्थुङ समुदायले आफ्नो शिर मान्नुहुन्छ । तर, अहिले याक्थुङहरुको त्यही शिर छेदन गर्न राज्य नै लागिपरेको छ । यस्तो समयमा चिन्तनशील सर्जकहरुलाई चुपो लागेर बस्न उनिहरुको दायित्वले दिदैँन’, रातोस थप्छन्, ‘जसको शिर र स्वाभिमानले अरुको समेत शिर ठाडो हुन्छ, उनिहरु नै शिरविहीन भएको कसरी सहन सकिन्छ ? नाटकमा हामीले यही कुरा देखाउने प्रयास गरेका छौं ।’
अर्का लेखक तथा कलाकार विष्णु मोक्तान भन्छन्, ‘विभिन्न कालखण्ड, व्यवस्था र शासकहरुको पगरीले थिचिएका विभिन्न राष्ट्र, अस्तित्व र सह–अस्तित्वसहितको नाटक हो मुक्कुम्लुङ । त्यसैले यस नाटकको लेखन र अभिनयमा म जोडिएको हुँ ।’
नाटकको प्रमुख पात्रहरुमध्येमा देखिन लागेका कलाकार वेदना राईले यस नाटकसँग जोडिन पाउँदा आफू खुसी रहेको बताए । ‘आफू मात्र बाँचौँ, आफ्नो आस्थाको धरोहर मात्र सुरक्षित गरौं र आफ्नो मात्र अधिकार जोगाऔं भन्ने सोच कति घातक हुन सक्छ ? भन्ने कुरा नाटकमा देखिने छ’ राई भन्छन्, ‘नाटक मुक्कुम्लुङले जसरी बाँच्न पाउने अधिकार मान्छेहरूलाई छ, त्यसैगरी जनावर र बोटबिरुवाको पनि रहेको सन्देश दिन्छ । आफ्नो आस्थाको धरोहर जोगाउने अधिकार सबैलाई समान रूपमा छ ।’
त्यसैगरी अर्का कलाकार प्रतिना राईले नाटक ‘मुकुम्लुङ’सँग सम्बन्धित रहेकाले मुक्कुम्लुङबारे धेरै सकारात्मक प्रभाव पार्ने तथा सन्देश दिने विश्वास व्यक्त गरे । ‘यस नाटकले आम दर्शकलाई मुक्कुलुङको मुद्दाको बारेमा गहिरो ज्ञान प्रदान गर्नुका साथै यस बिषयमा सबै पक्षलाई संवेदनशील बनाउने छ’ राईले भने, ‘नाटकले मुक्कुम्लुङमा चलिरहेको नो केवलकार आन्दोलनलाई बल दिनेछ भने लिम्बु समुदायको मुन्धुमबारे ज्ञान दिँदै सांस्कुतिक पर्यावरणीय सम्पदामाथि जिम्मेवार बनाउन ठूलो भुमिका खेल्ने छ ।’
एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रंगमञ्चले नाटक निर्माण तथा प्रस्तुत गरेको हो । अनिल सुब्बा, गीलु रातोस र बिष्णु मोक्तानको संयुक्त लेखन रहेको नाटकको निर्देशन तथा परिकल्पना अनिल सुब्बाले गरेका छन् । नाटकमा बिष्णु मोक्तान, वेदना राई, सुरज तमु, प्रतिना राई, मानहाङ लावति, शोभा लिम्बु, सौजन सेनेहाङ, मणि के. राई, भूमिका थारु, पवन कुमार गोले, अजय लामा, डेविड सुवेदी, संजीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीण मगर, अन्जना राई, नुमा राई, अमर बाबु बुढाथोकी, आकाश सुहाङ लिम्बु र इशा सिंजालीको अभिनय रहनेछ । नाटकमा मणि के. राईको कोरियोग्राफि रहेको छ भने प्रवृत्ति राई, युकेश राई र आशिष माझिले गायन र वाद्यवादनको काम गर्नेछन् ।

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...