मुक्कुमलुङ केबलकार आयोजना खारेज गर्न माग, माग पूरा नभए निरन्तर सङ्घर्षको चेतावनी

,   लिम्बुवान न्युज
                       

ललितपुर, ५ मंसिर । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना तत्काल खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समिति र मुक्कुमलुङ ताइसेःप चुम्भोले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेका छन् ।

बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत दुवै समितिले केबलकार आयोजना रद्द गर्नुपर्ने अडान दोहोर्‍याउँदै आन्दोलनका क्रममा भएका भनिएका दमन तथा मानवअधिकार उल्लङ्घनका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । साथै, आन्दोलनकारीमाथि लगाइएका सम्पूर्ण मुद्दा खारेज गरिनुपर्ने समितिको माग छ ।

सङ्घर्ष समितिले आन्दोलनका क्रममा सुरक्षाकर्मी र केबलकार निर्माणमा संलग्न पक्षबाट आक्रमण, गोली प्रहार तथा धरपकड भएको आरोप लगाएको छ । पीडितका उजुरी दर्ता नभएको भन्दै सम्बन्धित दोषीमाथि कारबाही गर्न, घाइतेहरूको उपचार खर्च व्यहोर्न तथा जीविकोपार्जनको उचित व्यवस्था मिलाउन समितले सरकारसँग आग्रह गरेको छ ।

यसैगरी, मुक्कुमलुङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक महत्त्व जोगाउन पाथिभरा क्षेत्र विकास समिति खारेज गरी स्थानीय आदिवासी समुदायको सहमति र नेतृत्वमा ‘मुक्कुमलुङ क्षेत्र विकास समिति’ गठन गर्नुपर्ने माग अघि सारिएको छ ।

सरकारद्वारा गठित सात सदस्यीय कार्यदलले केबलकार निर्माणसम्बन्धी अध्ययन गरी बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न र त्यसमा समेटिएका सुझाव तथा कानुनी कारबाहीका सिफारिसहरू कार्यान्वयन गर्नसमेत समितिले माग गरेको छ ।

मुक्कुमलुङ याक्थुङ लिम्बू समुदायको मुन्धुमी आस्था, सांस्कृतिक पहिचान र पुर्ख्यौली विरासतसँग जोडिएको पवित्र स्थल भएकाले स्थानीय आदिवासी समुदायको स्वतन्त्र तथा पूर्वसूचित सहमतिबिना कुनै पनि विकास आयोजना अघि बढाउन नहुने समितिको जोड छ । आफूहरू विकासको विरोधी नभई समुदायको धार्मिक तथा सांस्कृतिक अस्तित्व र प्राकृतिक सम्पदाको संरक्षण अभियानमा रहेको स्पष्ट पार्दै समितिले माग सम्बोधन नभए निरन्तर सङ्घर्षमा उत्रिने चेतावनी दिएको छ ।

सङ्घर्ष समितिका अनुसार काठमाडौँको माइतीघर मण्डलासहित कोशी प्रदेश (तत्कालीन प्रदेश नं. १) का १४ वटै जिल्लामा पत्रकार सम्मेलन गरी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाइएको छ ।

सम्बन्धित समाचार

झापा–११ को १०–० को फराकिलो जित, सजिनाको ह्याट्रिक

दमक, ५ मंसिर । दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा २–० ले अगाडि...

मिक्लाजुङमा निःशुल्क आँखा शिविर सम्पन्न : ३५ सयको परीक्षण, २७५ जनाले पाए नयाँ दृष्टि

मिक्लाजुङ, माेरङ् । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा आयोजित चारदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया तथा आँखा परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमार्फत ३ हजार ५०० जना सर्वसाधारणको आँखा परीक्षण गरिनुका साथै २७५ जना मोतियाबिन्दुका बिरामीको सफल...

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

;