
दमक, ५ मंसिर । दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबलाई १०–० को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
पहिलो हाफमा २–० ले अगाडि रहेको झापाले दोस्रो हाफमा रक्षापंक्ति सम्हाल्न नसकेको पोखराविरुद्ध थप ८ गोल थपेको थियो । झापाका लागि सजिना स्याङतानले ह्याट्रिकसहित ४ गोल गरिन् भने ममता राउतले २ तथा सेमिहाङमा लिम्बू, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले समान १–१ गोल गरे । प्लेयर अफ द म्याच घोषित सजिनाले १५ हजार रुपैयाँ पुरस्कार पाइन् ।
प्रतियोगितामा ८ टोली सहभागी छन् । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । टिकट दर १०० देखि ५०० रुपैयाँ र भिआइपी टिकट १ हजार रुपैयाँ तोकिएको छ, जसमध्ये प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी जनजाति दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिने गाेल्ड कपका अध्यक्ष सन्ताेष थाेप्राले बताए । आइतबारको खेल त्रिभुवन आर्मी एफसी र भारतको एभी एफसीबीच हुनेछ ।