
मिक्लाजुङ, माेरङ् । मोरङको उत्तरी क्षेत्र मिक्लाजुङमा आयोजित चारदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया तथा आँखा परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमार्फत ३ हजार ५०० जना सर्वसाधारणको आँखा परीक्षण गरिनुका साथै २७५ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ ।

मिक्लाजुङ गाउँपालिकाको आयोजना, विश्वप्रसिद्ध नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत आबद्ध तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोग तथा मधुमल्ला अस्पतालको स्थानीय सहजीकरणमा शिविर सञ्चालन गरिएको हो । मिक्लाजुङ गाउँपालिका–२ स्थित मिक्लाजुङ आधारभूत अस्पतालमा कार्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म शिविर सञ्चालन भएको थियो ।
शिविरमा मिक्लाजुङ र उत्तरी मोरङका विभिन्न भेगसँगै छिमेकी जिल्ला इलाम र झापाबाट समेत उपचारका लागि बिरामीहरूको उल्लेख्य सहभागिता रहेको थियो । विशेषगरी आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका तथा आँखाको उपचारका लागि ठूला सहर धाउनुपर्ने बाध्यता रहेका ग्रामीण भेगका नागरिकलाई लक्षित गरी शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
तिलगंगा आँखा अस्पतालको दक्ष प्राविधिक टोलीले शिविरमा प्रत्यक्ष सेवा प्रदान गरेको थियो । घरआँगनमै विशेषज्ञ चिकित्सकसहितको गुणस्तरीय र निःशुल्क उपचार सेवा पाएपछि लामो समयदेखि दृष्टिसम्बन्धी समस्या झेलिरहेका बिरामीहरूमा खुसी छाएको छ ।
ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालन गरिएको यस शिविरले स्थानीयवासीलाई ठूलो आर्थिक तथा शारीरिक राहत प्रदान गरेको छ ।