
दमक, माघ १० । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको तेस्रो प्रादेशिक महाधिवेशन सम्पन्न भएकाे छ । पाँचथरको फिदिममा माघ ५ देखि ७ गतेसम्म आयोजित महाधिवेशनबाट सर्वसम्मत रूपमा फेदेनका विजयबोध लावतीकाे नेतृत्वमा नयाँ समिति चयन भएको हो।
महाधिवेशनबाट उपाध्यक्षमा खनेन्द्र कुमार राई (अर्जुन), महिला उपाध्यक्षमा सुप्रीय राई, महासचिवमा लिला बहादुर सुनुवार, संगठन सचिवमा रामचन्द्र बम्जन, संस्थागत सचिवमा दिलबहादुर राई, कोषाध्यक्षमा सन्दीप याम्फू र सदस्यहरूमा अरुण कुमार राई, अजय सन्तोषी राई, कृष्ण फुरुम्बु लिम्बू, मौसम सम्बाहाम्फे, रमिला दनुवार, मेनुका योन्जन, निशा राई, अमित तामाङ, जयराम पूर्वाछाने, श्रवण चौधरी, निश्चल राजभण्डारी र नेत्र कुमार सुनुवार सर्वसम्मत रूपमा चयन भएका छन्।
यस्तैगरी लेखा समितिमा संयोजक प्रेम देवन र सदस्य अनिलेदेव राई चयन भएका छन्। अनुशासन समितिमा संयोजक ब्रम्हालाल हजारी र सदस्य अशोक गुरुङ चयन भएका छन्। त्यस्तै, केन्द्रीय प्रतिनिधिमा बिनु चेम्जोङ र प्रदेश इन्चार्जमा राजेन्द्र दुष्ट राई चयन भएका हुन्। निर्वाचन मण्डलमा संयोजक दीपिन राई सदस्यमा अधिवक्ता सन्त राई र निलिफा सुब्बा थिए ।
महाधिवेशनमा प्रमुख अतिथिका रूपमा पाँचथर क्षेत्र ‘क’ का प्रदेश सभा सदस्य तथा पूर्व प्रदेश मन्त्री कमल प्रसाद जबेगु उपस्थित थिए। विशेष अतिथिमा फोनिज संघीय अध्यक्ष गजुरधन राई, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष र विभिन्न जातीय पत्रकार संगठनका प्रतिनिधिहरू सहभागी थिए।
१ नम्बर प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लाबाट प्रतिनिधिहरू महाधिवेशनमा सहभागी भएका थिए। संगठन सचिव रामचन्द्र बम्जनका अनुसार सहमतिबाट नेतृत्व चयन गर्न नसक्दा लगभग १३ घण्टा लामो छलफलपछि मात्र सहमति जुटेको थियो। निर्वाचन मण्डल संयोजक दिपिन राईले अध्यक्ष पदका लागि इलामका राम योङ्हाङ, उदयपुरका राजेन्द्र दुष्ट राई, धनकुटाका बिनु चेम्जोङ र पाँचथरका विजयबोध लावतीले आकांक्षा प्रस्तुत गरेको जानकारी दिए। अन्ततः बिनु चेम्जोङले आफ्नो दाबी फिर्ता लिएपछि विजयबोध लावती सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन्।
अध्यक्ष लावतीको योगदान
झन्डै २५ वर्षदेखि पत्रकारितामा सक्रिय विजयबोध लावती २० वर्षदेखि नेपाल टेलिभिजनको पाँचथर जिल्ला संवाददाताका रूपमा कार्यरत छन्। उनले पत्रकारितासँगै विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामाजिक सेवामा महत्वपूर्ण योगदान गरेका छन्।
२०६१ देखि २०७१ सालसम्म फोनिज जिल्लाको सदस्यका रूपमा कार्य गर्दै आएका लावतीले २०७२ देखि २०७६ सालसम्म केन्द्रीय सदस्यका रूपमा योगदान दिए। महाधिवेशनअघि उनी फोनिज प्रदेश १ का सल्लाहकार थिए।
अध्यक्षको प्राथमिकता
अध्यक्ष चयनपछि लावतीले फोनिजका सदस्यहरूको सम्मान र नवप्रवेशी पत्रकारहरूको प्रोत्साहनका लागि विशेष कार्यक्रमहरू सञ्चालन गर्ने बताएका छन्। उनले पहिचानका मुद्दामा कलम चलाउने, स्थानीय उत्पादन, रैथाने कला, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने र स्थानीय तहसँग सहकार्य गरी नयाँ पत्रकार उत्पादन गर्ने योजना अघि सारेका छन्।
सर्वसम्मत नेतृत्व चयनसँगै फोनिज प्रदेश १ ले आगामी दिनमा जनजाति समुदायको पहिचान, हकअधिकार र सांस्कृतिक प्रवर्द्धनका मुद्दामा थप सशक्त भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन्।
दश बुँदे फेदेन पान्थर घोषणापत्र
महाधिवेशनले १० बुँदे घोषणा–पत्र जारी गरेको छ। घोषण पत्रको पूर्णपाठः
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)
प्रदेश १ को तेस्रो ऐतिहासिक प्रदेश महाधिवेशन
२०८१ माघ ५, ६ र ७ गते
फेदेन, पान्थर घोषणा पत्र–०८१
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिको मिति २०८१ माघ ५, ६ र ७ गते पान्थर जिल्लाको फेदेन नगरपालिका ४ फेदेन बजारमा सम्पन्न तेस्रो ऐतिहासिक प्रदेश महाधिवेशनले समसामयिक विषय समावेश गरी १० बुँदे ‘पान्थर घोषणा पत्र–२०८१’ जारी गर्दछ ।
१. लिम्बुवानी भूमि ताप्लेजुङ्गमा अवस्थित मुक्कुम्लुङको सन्दर्भमा हाल देखिएको विषयप्रति फोनिजको गहिरो ध्यानाकर्षण भएको छ । यस सम्वन्धमा ऐतिहासिक तथ्य प्रमाण र दस्तावेजहरुको आधारमा यसको मौलिक पहिचानलाई कायम राख्न सम्वद्ध सबै पक्षहरुले अविलम्ब साझा धारणा बनाई यो विषय तत्काल समाधान गर्न यो महाधिवेशन माग गर्दछ ।
२. पाँचथरको धार्मिक, साँस्कृतिक, ऐतिहासिक, पुरातात्वि, पर्यटकीय, दाहसंस्कार स्थल, समाधिस्थल, पुरातात्विक स्थलहरुको प्रचारप्रसार, उजागर एवम् प्रर्वद्धन गर्न/गराउन यो महाधिवेशन प्रण गर्दछ ।
३. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशका सबै सञ्चार गृहमा लागू गराउन माग गर्दै स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक सहुलियतको व्यवस्था गर्न तिनै तहका सरकार समक्ष यो महाधिवेशन माग गर्दछ ।
४. प्रदेश नम्बर १ मा मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चार माध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तिकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् भन्ने यो प्रदेस महाधिवेशन माग गर्दछ ।
५. राज्यबाट वितरण गरिने विज्ञापन समानुपातिक आधारमा साना तथा ठूला सञ्चार माध्यमलाई उपलब्ध गराउने कानूनी व्यवस्था गर्नका लागि यो महाधिवेशन जोडदार माग गर्दछ ।
६. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग यो महाधिवेशन माग गर्दछ ।
७. मातृभाषाबाट नामाकरण गरिएका विभिन्न ठाउँहरुको अपभ्रशं भएकोलाई पुनर्उत्थान र पुनःलेखन गर्न÷गराउन यो तेश्रो प्रदेश महाधिवेशन प्रण गर्दछ ।
८. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको ऐतिहासिक तथ्य र प्रमाणले पुष्टि भएको हुँदा इतिहास र योगदानको सम्मान गर्दै महासंघको संस्थापक अध्यक्ष श्रेष्ठलाई नै घोषणा गर्न यो प्रदेस महाधिवेशन नेपाल पत्रकार महासंघसँग विशेष माग गर्दछ ।
९. समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा संचारमा पहिचान स्थापित हुने गरी कार्यान्वयन गरी समाचार कक्ष समावेशी बनाउनका लागि यो महाधिवेशन माग गर्दछ ।
१०. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को तेश्रो ऐतिहासिक महाधिवेशनमा आमन्त्रित प्रमुख अतिथि प्रदेश १ का पूर्व भौतिक पुर्वाधार योजना मन्त्री माननिय कमल प्रसाद जवेगु, विशिष्ठ अतिथि फोनिज संघीय अध्यक्ष गजुरधन राई,संघीय प्रतिनिधि विश्वराज तामाङ, अग्रज पत्रकार एवं फोनिजका पुर्व संघीय सल्लाहकार संजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्यद्धय लवदेव ढुङ्गगाना, माला पालुङ्गा, प्रदेस १ का अध्यक्ष भरत खड्का, महासचिव हिमा चेम्जोङ, जिल्ला समन्वय समिति पान्थरका उपप्रमुख यामकुमार आङबो, फिदिम नगरपालिकाका उप–प्रमुख राधाकृष्ण न्यौपाने, फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिं नेम्वाङ्ग, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, नेपाल पत्रकार महासंघ पान्थरका अध्यक्ष भीमकुमार बास्कोटा, लगायत केन्द्रीय पदाधिकारी/सल्लाहकार/सदस्य,पाँचथर जिल्लाका स्थानीय तहका प्रमुख, उप–प्रमुख, विभिन्न जिल्लाका फोनिज अध्यक्ष तथा प्रतिनिधि, पर्यवेक्षक, निर्वाचन मण्डल, स्थानीय व्यवस्थापन तथा समन्वय गर्ने फोनिज शाखाका सिङ्गो टिम, साथै महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने अन्य सबैमा यो तेश्रो प्रदेस महाधिवेशन विशेष धन्यवाद व्यक्त गर्दछ ।
Related