गौरादहमा लिम्बुवान भोलेन्यिटर्सको जनप्रदर्शन, पीडितहरुको पक्षमा लड्ने प्रतिबद्धता

 लिम्बुवान न्युज
                       

गौरादह । चीनको लगानीमा झापाको गौरादह, दमक र कमलमा औद्योगिक पार्क निर्माणकाक्रममा स्थानीयवासीलाई अन्याय गरिएको भन्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र त्यसका घटकहरु चरणवद्ध विरोध प्रदर्शनमा उत्रिएका छन् । मंगलबार झापाको गौरादहमा मञ्चको घटक संघीय लिम्बुवान मञ्च, नेपालको मातहत संगठन लिम्बूवान भोलेन्टियर्स (एलभी) केन्द्रीय कमाण्डले ¥याली सहितको विरोधसभा सम्पन्न गरेको छ ।

यसअघि गत पुस १४ गते झापाको दमकमा मञ्चको घटक संघीय लिम्बुवान मञ्च, नेपालले स्थानीय पीडित सहितको सहभागितामा वृहत ¥याली सहितको विरोधसभा गरेको थियो । वृहत् लिम्बूवान पहिचान तथा क्लिन पार्क सरोकार सभा नाम दिइएको विरोध कार्यक्रममा लिम्बुवान कार्यकर्ता तथा स्थानीय गरी करिव तीन हजार पाँच सयको संख्यामा सहभागिता थियो । उनीहरुका मुख्य मागमा झापाको गौरादह र दमकका हजारौं विगाहा जग्गामा बन्न लागेको क्लिनपार्क पीडितहरुले न्यायोचित मुआब्जा प्राप्त नगरेकोले पीडितहरुको गुनासोलाई सम्बोधन गर्न वैज्ञानिक ढंगले मुआब्जा वितरण गर्नुपर्ने, बन्दै गएको क्लीन पार्क पीडितहरुलाई न्यायोचित सम्बोधन गर्नुका साथै उनीहरुलाई रोजगारीको ग्यारेन्टी गर्नुपर्ने रहेको छ ।

त्यस्तै आदिवासी जनजातिको आईएलओ १६९ले प्रत्याभूत गरेको जल, जंगल र जमिनमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने माग अघि सारिएको संघीय लिम्बुवान मञ्च नेपालका उपमहासचिव तथा सञ्चार प्रमुख दिलकुमार लावतीले बताए । विभिन्न क्षेत्रबाट स्थानीय पीडितसहित पूर्व पश्चिम राजमार्ग अन्तर्गत लखनपुर पाडाजुँगी चोकमा भेला भएका सरोकारवालाको मोटरसाइकल तथा बस र्याली गौरादह तर्फ अघि बढेको थियो ।

गौरादहको पेट्रेलपम्पबाट सुरु भएको पैदल र्याली बजार परिक्रमापछि बजारमा विरोधसभामा परिणत भएको थियो । आफ्ना मागसँग सम्बन्धित विभिन्न नारा लेखिएका प्लेकार्ड तथा व्यानर बोकेका सहभागीको र्यालीले पीडितलाई न्याय दिलाउन माग गर्दै चर्का नाराबाजीसहित गौरादह बजार परिक्रमा गरेका थिए ।

चिनियाँ लगानी भित्रयाउन स्थानीय सबै राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतलाई समेटेर छलफल गरी सबैको सहमतिमा लगानीको वातावरण निर्माण गर्न आव्हान गरिए पनि त्यसो नभई सीमित दलको सेण्डिकेटबाट सोझा गरिब नागरिकलाई उठिबास लगाउने काम भएको लिम्बूवान नेताहरुले बताए । ¥यालीमा सहभागीले प्लेकार्डसहित क्लिनपार्क पीडितको आवाज सुनुवाइ गर, क्लिनपार्क पीडितलाई न्यायोचित मुआब्जा वितरण गर, क्लिनपार्कको वास्तविकता सार्वजनिक गर जस्ता नारा लगाएका थिए । पार्क निर्माणको काम अपारदर्शी भएको र जनतालाई गुमराहमा राखिएको बताइएको छ । क्लिनपार्क सञ्चालनमा सर्वदलीय समिति गठन गर्नुपर्ने, जग्गाधनीहरुसँग वार्ता गरी क्षतिपूर्तिको समस्या समाधान हुनुपर्ने, क्लिनपार्कमा के निर्माण हुन आँटेको हो, त्यसबारे स्वेत पत्र जारी गर्नुपर्ने लगायतका माग लिम्बुवानले अघि सारेको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवान मञ्च, नेपालका अध्यक्ष कुमार लिङ्देन मिराकका अनुसार गौरादह र दमक जोडिएर बन्न लागेको अर्बौको क्लिन पार्कले यहाँका आदिवासी जनजातिको जल, जमिन र जंगलमाथिको आईएलओ १६९ले दिएको अग्राधिकारलाई वेवास्ता गरिएको छ । उनले भने– त्यस क्षेत्रमा भएका हजारौं हेक्टर जमिनलाई न्यूनतम् मूल्य कायम गरी वर्तमान सरकारको निर्देशनमा जनतालाई सुकुम्बासी बनाउने र केही व्यक्ति रातारात अर्बपति हुने षड्यन्त्रबिरुद्ध मञ्चले बिरोध गरेको हो, विरोध जारी रहनेछ । अर्को प्रसङ्ग जोड्दै अध्यक्ष लिङ्देनले – “लखनपुरमा निर्माण गरिने आदिवासी रंगशाला निर्माणमा ढिलाई नगर्न सरकारलाई चेतावनी दिएका छन् ।”

‘मुआब्जाको नाममा पार्क बनाउन सोझा–साझा स्थानीय जनतामाथि ठगी भएको छ, सीमित व्यक्ति मोजमा छन्, त्यसकारण चीनको लगानी खेर जान्छ’– लिम्बुवान नेताहरुको भनाइ थियो । आफूहरु विकास विरोधी नभए पनि पीडितले उचित क्षतिपूर्ति नपाए त्यस सम्वन्धी काम हुन नदिने लिम्बुवान नेताहरुले बताए । नेकपा सरकारले विकासको नाममा संघीयताको मर्म विपरीत, भौगोलिक विविधतालाई वेवास्ता गर्दै आदिवासी जनजातिहरुले संरक्षण गर्दै आएका प्राकृतिक सुन्दरताको दोहन गर्ने प्रयासहरु दिनदिनै हुन थालेकोमा मञ्चले विगतदेखि नै आपत्ती जनाउँदै आइरहेको बताइएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्ष नेपालमाथिको आक्रमण बन्द गर्नुपर्ने, लिम्बुवान लगायत पहिचानको आधारमा १०+१ प्रान्तहरु र विशेष स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने लगायतका १५ बुँदे माग लिम्बुवानले अघि सारेको छ । विरोधसभालाई वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, उपमहासचिव भानु भट्टराई, संघीय दलित मुक्ति मञ्चका अध्यक्ष रमेश गजमेर, उपाध्यक्ष बलराम रिषिदेव, महासचिव शर्मिला वागचन्द लगायतले सम्बोधन गरेका थिए ।

एलभीका केन्द्रीय सहकमाण्डर राजु राईको अध्यक्षतामा भएको कार्यक्रममा उप कमाण्डर बादल राईले स्वागत र गणेश मिभकले सञ्चालन गरेका थिए ।

चीन सरकारले औद्योगिक पार्क निर्माणका लागि कूल ६५ अर्ब लगानी गर्ने गरी सम्झौता भएको छ । दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकाको कूल २२ सय बिगाह क्षेत्रमा वातावरणमैत्री औद्योगिक पार्क निर्माण प्रक्रिया अघि बढाइएको छ । पार्कलाई दक्षिण एशियाकै ठूलो भनिएको छ । उक्त कार्य गर्दा सबै सरोकारवालाहरूसँग बसेर सबैका गुनासा सुनेपछि उचित सहमतिका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाइए पनि त्यसो नभएको जनाइएको छ । दमक क्लिन इण्डष्ट्रियल पार्क प्रालिको नामबाट प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा करिब २२ सय बिगाह जग्गामा पार्क बन्न लागेको हो ।

सम्बन्धित समाचार

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...

उपसभामुख निर्वाचित ठाकुरले लिइन् पद तथा गोपनियताको शपथ

ललितुपर, २७ चैत्र । नवनिर्वाचित प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहका बीच ठाकुरलाई सभामुख डोलप्रसाद अर्यालले शपथ गराएका हुन् । शपथ समारोहमा उपराष्ट्रपति...