पालिकाले विपन्न सबै दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

 लिम्बुवान न्युज
                       

झापा, २ फागुन । झापा गाउँपालिकाले मधुमेह र उच्च रक्तचापका सबै विपन्न दीर्घरोगीलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गतवर्ष नै गाउँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्ने सोचाइ बनाइएकामा त्योभन्दा स्वास्थ्य बीमा नै प्रभावकारी हुने निष्कर्ष निस्किएकाले यसवर्षदेखि दीर्घरोगी विपन्न परिवार छानीछानी बीमा गरिदिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताए ।

स्वास्थ्य स्वयमसेविका परिचालन गरेर पालिकाका ३१८ त्यस्ता रोगीको पहिचान गरिएको छ । उनीहरुको परिवारका पाँचजनासम्मको स्वास्थ्य बीमा गरेर बीमा कार्डसमेत वितरण गरिएको उनको भनाइ थियो । दीर्घरोगी वडा नंं ४ का ७५ वर्षीय सागिर मियाँले आर्थिक अभावले विगतमा स्वास्थ्य बीमा गर्न नसकेकामा पालिकाले गरिदिएको बीमाले अब वर्षभर औषधि ल्याएर खान सहज भएको जानकारी दिए ।

पाँचजना परिवारको अभिभावक उहाँ उच्च रक्तचाप, मधुमेह र छालाको रोगले पीडित छन् । अर्काको घरमा दैनिक मजदूरी गर्दै आएका मियाँले यसअघि महिनामा रु पाँच सय बराबरको औषधि किनेर नियमित खानु परिरहेको थियो । सात वर्षदेखि मुटु र उच्च रक्तचापको बिरामी झापा गाउँपालिका–४ की ६६ वर्षीया सुन्दरवती गणेशले मासिक दुई हजार जति औषधि उपचारमा खर्च गर्दै आएकामा अब निःशुल्क हुने भएपछि खुसी भएकी छिन् ।

पालिकाले पठाएका स्वास्थ्य सेविकाले बिरामीको आर्थिक अवस्था, उपचार गराइरहेको अस्पतालको प्रतिवेदन र रोगको प्रकृति हेरेर स्वास्थ्य बीमा गराउने परिवारको छनोट गरेका पालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । “पालिकामा दीर्घरोगीको सङ्ख्या धेरै नै छ तर हामीले श्रमिक र विपन्न वर्गका परिवारलाई स्वास्थ्य बीमाका लागि छानेका छौं,” उनले भने –“आर्थिक हैसियत हुनेले आफै रकम तिरेर बीमा गर्न सकिहाल्छन र उपचार गराउन खर्च पनि गर्न सक्छन् ।”

विगत १६ वर्षदेखि मधुमेह र उच्च रक्तचापको औषधि नियमित सेवन गरिआएका वडा नं ६ का ५८ वर्षीय मनबहादुर विश्वकर्माले पनि आफ्नो पालिकाभित्रका रोगी र बुढापाकाको पहिचान गरेर स्वास्थ्य बीमा गरिदिएकोमा स्थानीय सरकारप्रति आभार प्रकट गरे । “गरिबले खानका लागि बिहान–बेलुका अन्न जुटाउनै मुस्किल हुन्छ, ओखती गर्ने औकात पुग्दैन,” उनले खुसी हुँदै भने –“हाम्रो पालिका भनेको हाम्रो सरकार हो । निःशुल्क बीमा गरेर अति राम्रो काम ग¥यो ।” मुटु, मधुमेह र उच्च रक्तचापको औषधिका लागि भद्रपुर वा बिर्तामोड धाउने खर्च अब जोगिएको विश्वकर्माले सुनाए । चालू आर्थिक वर्षमा पालिकाले बजेटमै उच्च रक्तचाप र मधुमेहका दीर्घरोगीलाई निःशुल्क औषधि खरिदका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट स्वास्थ्य बीमा गरिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले पालिकाका सातै वडाबाट सूचना जारी गरेर स्वास्थ्यसेविकामार्फत रोगीको विवरण सङ्कलन गरिएकोे र सोही विवरणका आधारमा उनीहरुको बीमा गरेर बीमा कार्ड वितरण गरिएको जानकारी दिए ।

“औषधि खरिद गर्न यो बजेटले वार्षिक नभ्याउने भयो”, उनले भने, “बीमा गरिदियो भने सो रकमले पनि पुग्ने र बिमितहरुले रु एक लाखसम्मको औषधि उपचार गर्न पाउने हुँदा हामीले बीमा नै गरिदिएका हौँ ।” बिमितहरुको विवरण सङ्कलन गरेर मङ्सिरमै बीमा गरिदिएको हुँदा उनीहरुलाई आइतबार पालिका अध्यक्ष जयनारायण साहले कार्ड वितरण गरे ।

सो बीमा यही फागुन महिनादेखि लागू हुने उनको भनाइ थियो । बीमामार्फत वार्षिक औषधि र उपचारमा प्रति परिवार रु एक लाखसम्म खर्च हुनसक्ने उनले जानकारी दिए । वडा नंं ६ की ८२ वर्षीया तुलसा मिश्र र ६८ वर्षीय धनबहादुर कटुवालले यसवर्षको स्वास्थ्य बीमा पालिकाले गरिदिएकोमा खुसी व्यक्त गर्दै आगामी वर्षमा पनि निरन्तर नवीकरणको व्यवस्था गरिदिन पालिकालाई आग्रह गरेका थिए ।

सम्बन्धित समाचार

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...