काठमाडौं, ६ फागुन । नेपाल सरकारले ५०१ जना कैदीबन्दीहरुलाई राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् ।
शुक्रबार राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा भएको हो ।
सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन ऐन), २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो । कैदीहरु राष्ट्रिय प्रजातन्त्र दिवस फाल्गुन ७ गते थुनामुक्त हुनेछन् ।
