पूर्व अध्यक्ष केशव आचार्यले दिए अक्षयकोषमा एक लाख

,   लिम्बुवान न्युज
                       


बिर्तामोड, १६ फागुन ।  नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।
मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरे ।
०५३ सालमा आचार्य महासंघको अध्यक्ष हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा  एक लाख रुपैयाँ मात्र थियो । अक्षयकोषको व्याजले पु्स्कारको राशी नधान्ने भएपछि महासंघको वर्तमान कार्यसमितिले अक्षयकोषको रकम पाँच लाख पु¥याउने निर्णयसहितको प्रस्ताव गत साधारणसभामा पारित गरेको थियो । दाता र महासंघको आन्तरिक श्रोतबाट यसैवर्ष अक्षयकोषको रकम पाँच लाख पुर्याइने अध्यक्ष गिरीले बताए ।
झापाका अग्रज पत्रकारका रुपमा परिचय बनाएका ७० वर्षीय आचार्यले  अक्षयकोषको रकम वृद्धि र पुरस्कारको दिगोपनका लागि सहयोग गरेको बताए । हाल जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक एवम् साहित्य सेवामा क्रियाशील आचार्यले नेपालका पहिलो पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित पुरस्कारले नेपाली पत्रकारिताको श्रीवृद्धिमा योगदान गर्दैै आएको बताए । उनले महासंघ वर्तमान कार्यसमितिको रचनात्मक कार्यको प्रशंसा समेत गरे ।
महासंघ झापाका अध्यक्ष गिरीले पूर्व अध्यक्ष आचार्यलाई अक्षयकोषमा सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । उक्त अवसरमा महासंघका सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य स्वस्तिका आचार्य, प्रदेश परिषद् सदस्य मनकुमार शर्मा, पत्रकार सन्तोष न्यौपाने लगायतको सहभागिता थियो ।

मोती पत्रकारिता पुरस्कारको राशी अब  एक लाख एक हजार

मोती पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याउने प्रस्ताव गत कात्तिक २५ गते सम्पन्न महासंघको साधारणसभाले पारित गरेको छ ।
उक्त राशीको पुरस्कार महासंघको आगामी अधिवेशनबाट वितरण हुनेछ ।
एक लाख रुपैयाँमात्र अक्षयकोष रहेको सो पुरस्कारको राशी सुरुमा एक हजार रुपैयाँ थियो । ०७० सालबाट ५१ हजार रुपैयाँ राशी पुर्याइएको थियो । महासंघ झापा शाखाले मोती पत्रकारिता पुरस्कारको अक्षयकोष वृद्धिका लागि आवश्यक रकम सहयोग गर्न इच्छुक पूर्वअध्यक्ष, सञ्चारकर्मी तथा दाताहरुलाई आग्रह गरेको छ ।
त्यस्तै महासंघद्धारा स्थापित केटो पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी रु. २५ हजार पाँच सय ५५ पुर्याउने समेत प्रस्ताव पारित भएको छ । कोष वृद्धिपछि सोही कोषमार्फत वितरण हुने गरी महासंघले तेस्रो पुरस्कार स्थापनाको प्रस्ताव पनि पारित गरेको छ ।  रु.२५ हजार पाँच सय ५५ राशीको  सक्रिय समावेशी पत्रकारिता पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित भएको हो । आगामी अधिवेशनबाट सो पुरस्कार पनि नियमित वितरण हुनेछ ।

मोती पत्रकारिता पुरस्कार यसरी स्थापना भयो

नेपाली पत्रकारिताको शुरुवातकर्ता मोतीराम भट्टको स्मृतिमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ महासंघको अधिवेशनमा प्रदान गरिँदै आएको छ । महासंघ झापा शाखाका तत्कालीन निवर्तमान सभापति गोविन्दचन्द्र क्षेत्री र तत्कालीन सभापति केशव आचार्यको अगुवाईमा कार्य समितिले स्थापना गरेको उक्त पुरस्कार वितरणका लागि महासंघले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । पुरस्कारको राशी शुरुमा एक हजार रहेकोमा पछि ५१ हजार रुपैयाँ पु¥याइएको छ । मोतीराम भट्टले वि.स. १९४३देखि नेपाली पत्रकारिताको शुरुवात गर्नुभएको हो । उहाँले नेपाली भाषामा पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नुभएको थियो । उक्त पत्रिका भारतको बनारसबाट प्रकाशित भएको थियो । मोतीरामकै सक्रियतामा वि.सं. १९५५मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधासागर’ को प्रकाशन शुरु भयो । ‘सुधासागर’पछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोरखापत्र’ हो । झापामा मोतीरामको स्मृतिमा पत्रिकारिता पुरस्कार स्थापना भएकोमा झापाली पत्रकारको रचनात्मक सोच, कार्य र पत्रकारिताको गरिमालाई उच्च बनाउन भएको योगदानको प्रशंसा गर्दै त्यसताका गोरखा पत्र दैनिकले सम्पादकीय समेत प्रकाशित गरेको थियो । मोती पत्रकारिता पुरस्कार हालसम्म नकुल काजी, डिल्लीराम निर्भिक, मदन ढकाल, डिकमान विरही, गञ्जबहादुर दाहाल र लीला बराल,  चन्द्र भण्डारी र गोविन्दचन्द छेत्रीलाई प्रदान गरिएको छ ।

‘केटो’ पत्रकारिता पुरस्कार यसरी स्थापना भयो

नेपाल पत्रकार महासंघ झापा शाखाले २०५८ सालमा स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार महासंघको हरेक अधिवेशनमा युवा पत्रकारलाई प्रदान गरिँदै आएको छ । ‘केटो’  २०१० साल मंसीर १२ गतेदेखि प्रकाशित हुन थालेको झापाको पहिलो पत्रिका हो । मासिक रुपमा प्रकाशित भएको यो पत्रिका मेची अञ्चलकै जेठो मानिन्छ । श्यामकृष्ण उपाध्याय उक्त पत्रिकाको सम्पादक थिए । महासंघ झापा शाखाका तत्कालीन सभापति चिन्तामणि दाहालको कार्यकालमा झापाका जेठा सम्पादक श्यामकृष्ण उपाध्याय र पहिलो पत्रिकाको सम्मानमा ‘केटो’ पत्रकारिता पुरस्कार स्थापना गरिएको हो । उक्त पुरस्कार पहिलोपटक रामनाथ बाँस्कोटाको कार्यकालमा वितरण शुरु भएको हो । शुरुमा ५ सय रुपैयाँको यो पुरस्कारको राशी पछिल्लो समय १५ हजार रुपैयाँ पु¥याइएको थियो । पुरस्कारबाट पत्रकारहरु गोपाल गड्तौला, रमेश समदर्शी राई, तीर्थ सिग्देल, यादव पौडेल र दीपक अधिकारी, डिकेश लामा र गीता ढुंगाना पुरस्कृत भइसकेका छन् ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;